काठमाडौं। घुस डिलमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। उनले मंगलबार प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसदसमेत रहेका गुप्तामाथि भूमि आयोगका जिल्ला अध्यक्षको नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न घुस डिल गरेको आरोप छ।
पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ र एमालेकै गण्डकी प्रदेशका नेता सुजन लामाले मन्त्री गुप्ताको क्वार्टरमै गएर घुस डिल गरेको अडियो समाचारमाध्यम ‘सिधाकुरा’ले सार्वजनिक गरेको थियो।
सिधाकुरासँगको कुराकानीमा मन्त्री गुप्ताले अडियोमा आफ्नो आवाज रहेको स्वीकार गरेका थिए। उनीसँग घुसको विषयमा कुराकानी गरेको र रकम बोकेको कुरा नाउपाका अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले पनि पुष्टि गरेकी छन्।
सामान्य प्रशासनमन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नोट नम्बर र फोटोसहित उजुरी परेको छ।