भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् ।
विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा मंगलबार हरिबोधिनी एकादशीको दिन बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।
मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान ३ बजेदेखि नै मन्दिर खुला भएको र दर्शनार्थीको आगमन भएको बताउँदै रातिसम्ममा ५० हजारभन्दा बढी दर्शनार्थीले एकैदिन दर्शन गरेको जानकारी र्दिए । चार नारायणमध्येको जेठो नारायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रुपमा पुजिँदै आइएको छ ।
हरिबोधिनी एकादशीको दिनका दिन चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्दछन् ।
चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने विश्वास छ । चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरेपनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ ।
आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीमा जागा हुने भएकाले यस दिनलाई ठूली एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ । –रासस