चितवनको राप्ती नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाए।
हेटौंडाबाट नारायणगढका लागि छुटेको ०३-००१ ज २९९ नम्बरको इभी भ्यान र धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस एक आपसमा ठक्कर खाँदा ७ इभी भ्यानमा सवार ७ जनाको मृत्यु भयो।
जसमध्ये हालसम्मको अवस्थामा ६ जनाको मात्रै शनाखत भएको छ। चितवन प्रहरीका अनुसार सनाखत हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा-४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, इभी भ्यान चालक हेटौंडा -१० का राजु थिङ रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ४ जना मकवानपुरका रहेका छन्। जसमध्ये पनि तीन जना एउटै परिवारको रहेको पाइएको छ। मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल तीनै जनाको मृत्यु भएको डीएसपी खनालले बताए।
यता, हेटौंडा उपमहानगरपालिका-५ का वडाध्यक्ष शुशिल घिमिरेका अनुसार उनीहरु रेनुकाको प्रसुती गराउन भरतपुर अस्पताल जाँदै थिए। आइतबारको डेलिभरी (बच्चा पाउन) रहेकी रेनुकालाई उनको श्रीमान् र सासुआमाले अस्पताल लैजाने क्रममा दुर्घटनामा परेको वडाध्यक्ष घिमिरेले बताए।
घरमा ४ बर्ष र ९ बर्षका दुईछोरीहरु रहेको रेनुकाले आइतबार तेस्रो सन्तानलाई जन्म दिनका लागि अस्पताल जाँदै थिइन्। अस्पताल पुग्नु अगावै दुर्घटनामा परेर उनीसहित पेटमा रहेको शिशु, श्रीमान् र सासुआमा समेतको मृत्यु भएको हो।
उनीहरुको शव यतिबेला पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एउटा शवको भने पहिचना हुन सकेको छैन।