- ‘जयत्सेन पाण्डव’
लागूपदार्थ ओसार-पसारको पाखण्डी व्यापार-धन्दा तथा आत्मघाती प्रयोगकर्ताहरूबाट उत्पन्न र फैलिँदै गइरहेको विविध किसिमका जीवनघाती, परिवारघाती, समाजघाती, र अत: राष्ट्रघाती प्रकोपहरूमा राज्यका संयन्त्रहरूको परोक्ष सहयोग भइरहेको प्रस्ट देखिन्छ। यसै परिप्रेक्ष्यमा, झापाको भद्रपुरमा करिब २१ वर्षअघि स्थापित चेतना नेपालले यस घातक विकृतिविरुद्धको अभियान अविच्छिन्नरूपमा अघि बढाइरहेको छ। यसको प्रभाव हाल देशको पूर्वी क्षेत्रमा व्यवहारिक रूपमा देखिन थालेको छ। यो चेतना नेपालको एकल प्रयासको परिणाम हो भन्न हिचकिचाउनुपर्ने अवस्था छैन।
हालैको अवस्था हेर्दा, आगामी दिनहरूमा चर्किंदै जाने सम्भावना रहेको यो विकृतिको न्यूनीकरणमा राज्य संयन्त्रहरू अपेक्षित रूपमा तदारुक देखिएका छैनन्। २०२३ सालदेखि २०८० सम्म राज्यले लागूपदार्थको अवैध ओसारपसार, व्यापार र प्रयोग रोकथामसम्बन्धी दर्जनौं ऐन-कानून, निर्देशिका, र कार्यविधि निर्माण गरेको भए पनि तिनको प्रभावकारी कार्यान्वयनमा ठोस कदम चालिएको छैन।
हालै प्रकाशित र व्यापक चर्चामा रहेको पुस्तक ‘दिव्य दृष्टि’ले यी कुरालाई गहिराइमा खोतलेको छ। यो पुस्तक चेतना नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीका लामो अनुभव र विस्तृत खोज-अनुसन्धानको दस्तावेज बनेको छ। पुस्तकमा २०२३ सालदेखि हालसम्म बनेका कानून, निर्देशिका र कार्यनीतिहरू कति मात्रामा लागू भए र किन कार्यान्वयनमा असफल भए भन्ने तथ्य सरकारी रेकर्डका प्रतिकृतिहरूमार्फत उजागर गरिएको छ।
दिव्य दृष्टि पुस्तकले लागूपदार्थको इतिहास, यसको पाश्चात्य प्रभाव, युवा पुस्तामा यसको संक्रमण, अभिभावकको पीडा, र यस कुलतमा फसेकाहरूको पश्चात्तापका सत्यकथाहरू समेटेको छ। यी विवरणहरूले पाठकमा जिम्मेवारीबोध र विकृतिविरुद्धको अभियानप्रतिको चेतना जगाउने क्षमता राख्छ।
यस पुस्तकलाई आधार मान्दै चेतना नेपालले झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा जनचेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। लेखक इन्द्रप्रसाद ओलीका प्रशिक्षणहरू विद्यालय, समुदाय र प्रशासनिक क्षेत्रका जिम्मेवार व्यक्तिहरूका लागि प्रभावकारी सावित भएका छन्। साथै, केही व्यावहारिक परिवर्तनको खबर पनि सार्वजनिक भएका छन्। उदाहरणका लागि:
१.ताप्लेजुङको फुङलिङ बजारमा ‘मुस्ताङे’ जस्ता मिश्रित मादक पदार्थ बेच्ने चलन बन्द गरिएको छ।
२.बालबालिकाको तस्वीर प्रयोग गरेर ‘जङ्क फुड’को विज्ञापन गर्न निषेध गरिएको छ।
३.लागूपदार्थ दुर्व्यसन रोकथामसम्बन्धी विभिन्न पुस्तिकाहरू वितरण गरिएको छ।
चेतना नेपालले पछिल्ला वर्षहरूमा सात विशेष पुस्तिकाहरू प्रकाशित गरी चेतना फैलाएको छ, जसमा विभिन्न समुदायलाई लक्षित प्रशिक्षण र कार्यपत्रहरू समावेश छन्। यी प्रयासले सामाजिक जीवनका सातै क्षेत्रलाई सुधार्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
अन्त्यमा, चेतना नेपालको यो अभियान समयानुकूल र महत्त्वपूर्ण छ। समाजका सबै तहका नागरिक, नीति निर्माताहरू, र सम्बन्धित निकायहरूको सहकार्यबाट मात्रै यस अभियानलाई थप बलियो बनाउन सकिन्छ। यसमा सबैको सहभागिताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।