काठमाडौँ – सुर्खेतमा गोली चल्दा एक स्थानीयको घरको छाना छेडिएको छ। शनिबार बिहान करिब ८ बजेको समयतिर वीरेन्द्रनगर नगरपालिका–१० स्थित स्थानीय टीका रिजालको भान्सा घरको छाना गोलीले छेडेको हो।
चैते दशैंको दिन घरमा खाना पकाउँदै गर्दा अज्ञात स्थानबाट प्रहार भएको गोली टिनको पाता छेडेर भान्सामा खसेको थियो। गोलीले मानवीय क्षति भएको छैन। तर स्थानीय त्रसित बनेका छन्।
गोली कसले र किन चलाएको भन्ने पनि खुलेको छैन। गोलीले घरको छाना छेडेको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अवलोकन गरेको छ।
‘घटना हेर्दा कसैले घरलाई नै ताकेर हानेको जस्तो देखिँदैन। माथिबाट खसेको जस्तो देखिन्छ’,जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी विरेन्द्रवीर विश्वकर्माले भने।
उनका अनुसार गोलीको अगाडिको भाग भेटिएको छ। ‘उक्त गोली सामान्य बन्दुकमा लाग्ने खालको देखिँदैन। सामान्तया यो गोली लाग्ने बन्दुक नागरिकसँग हुँदैन। ठूलै बन्दुकमा लाग्ने जस्तो गोली छ’, उनले भने।
गोली कुनै व्यक्तिले उक्त घरलाई नै लक्षित गरेर चलाएको नभई आज चैते देशैको अवसरमा बिहान सुरक्षा निकायका अधिकारीहरूले फायर गरेको हुन सक्ने अनुमान गरिएको छ।
चाडपर्वमा सुरक्षा निकायले उत्सव मनाउने क्रममा बन्दुक पड्काउने गर्दछन्।