काठमाडौँ — चर्चित भ्लगर सिसन बानियाँले एमएमए फाइटर रवीन्द्र ढाँटप्रति राष्ट्रपति भवन शीतल निवासमा गरिएको व्यवहारलाई “अपमानजनक” भन्दै कडा आलोचना गरेका छन्।
देशको लागि अन्तर्राष्ट्रिय स्तरमा लड्ने खेलाडीलाई औपचारिक सम्मानका नाममा केवल एउटा माला लगाएर पठाइदिनु अपमान सरह भएको बानियाँको भनाइ छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै उनले लेखेका छन्, “इमानदारीपूर्वक भन्नुपर्दा च्याम्पियनप्रति कुनै सम्मान महसुस भएन। एउटा माला लगाइदिएर, पाँच मिनेटको भाषण हानेर, फोटो-भिडियो खिचेर टाप। हामीलाई चिया बिस्कुट खाउ भनेर छोडिदियो।”
उनका अनुसार, सम्मानका लागि बोलाइएका रवीन्द्र राष्ट्रपति भवनमा एक कप चिया खाएर झन्डै २० मिनेटसम्म फोटो सेसनमा सहभागी भएर फर्किए। “च्याम्पियनका लागि देशको सम्मान यही हो?” भन्दै बानियाँले प्रश्न उठाएका छन्।
उनले यदि रवीन्द्रबाट प्रचारप्रसार (पब्लिसिटी) खोजिएको हो भने त्यसको सट्टामा उनलाई यथोचित रूपमा सम्मान र पुरस्कार दिनुपर्ने माग समेत गरेका छन्।
एमएमए फाइटर रवीन्द्र ढाँटले हालै भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) प्रतियोगितामा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका थिए। उनले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएका थिए।