‘ए साँइला दाई ! हाम्रा पालिकामा कोरोना खोप लगाउने अरे नि हो ?’ हर्केको प्रश्नले साँइला खैनी च्याप्नै लागेको मुख आँ पारेका पारेइ हुन्छ । ‘होइन ए साँइला दाई ! हाम्रा पालिकामा पनि कोरोना खोप लगाउने अरे नि हो ?’ हर्के पुनः सोध्छ । साँइला मुखमा खैनी च्याप्दै अलि लरबरिएको स्वरमा भन्छ, ‘अँ भन्न त त्यसै भन्छन् त गाउँमा मुन्छेहरु ।’
हर्के जोड दिँदै भन्छ, ‘अनि हाव कहिलेतिर लाउने अरे त खोप साँइला दाई ?’ साँइला जिब्रोले खैनी मुखको कुनातिर ठेल्दै भन्छ, ‘कोरोनाको खोप लगाउने भनेर त एकवर्षदेखिन् सम्चार आका आकै छन् तर अहिलेसम्म हाम्रा पालिकातिर खोप आको होइन । बरु ए हर्के भाइ ! तिम्रो घर वडा अध्यक्षको छेउमै छ त तिमीले बुझेर मलाई पनि भनन है ।’ हर्के भन्छ, ‘वडा अध्यक्ष मेरा घर छेउमा भएर के गर्नु ? कोशौँ टाढा भएजस्ता छन् । केही कुरा सोध्यो कि टार्न मात्र खोज्छन् । ए साँइला दाई ! तिम्रो घर छेउमा वडा सदस्यको घर छ त उनैलाई सोधन र मलाई पनि भनन है ।’ साँइला भन्छ, ‘मेरा घरछेउमा वडा सदस्य भएर के गर्नु । केही कुरा सोध्न खोज्यो कि मन्टो बटारेर हिँडिहाल्छन् । अब कुन दिन खोप लाउने हो ? भनेर पालिका कार्यालयले माइकिङ्ग गर्ला नि त । बरु कान चाहिँ ठाठाडा पारेर बस्नु पर्ला है हर्के भाइ ।’
हर्के पुनः भन्छ, ‘कोरोनाको खोप लगाउन पाए कोरोना लाग्दैन र ज्यान जोगिन्छ कि भनेर नि । विदेशतिर त कोरोनाको खोप लगाइसकेर पनि मुन्छेहरु मास्क नलगाइ हिँड्न पाउने भइसके होइन त साँइला दाई ?’ साँइला भन्छ, ‘हर्के भाइ ! तिमीले भनेको ठीकै हो क्यार । अबरतिर गएका हाम्रा केटाहरुले त कोरोना खोप लगाइ सकेछन् । झन् उता के रे युरोप अम्रिकातिर त सबैजसोले खोप लगाइसकेर ढुक्क भइसकेछन् ।’
हर्के चाख मान्दै साँइलालाई भन्छ, ‘होइन नेपालमा पनि चालीस लाख डोज भन्दा धेरै कोरानाको खोप आइसकेको छ भन्छ त टिभिले । चीनबाट पनि दशलाख खोप आयो भन्छ । ती खोपहरु चाहिँ कता गए त ?’ हर्केको कुरामा साँइला भन्छ, ‘काठमाडौमा सांसदहरु र तिनका जहानपरिवार र नातेदारले पनि सुटुक्कै खोप लगाए भनेको सम्चारहरु सुनेनौ, पढेनौ ? सके होलान नि त्यसरी नै लगाएर । मन्त्रीले, तिनका जहानपरिवारले, नातेदारले, हाकिमहरुले, तिनका पनि आसेपासेहरुले भित्रभित्रै लगाएर ।’
च्यूँडो हातले समाउँदै एक छिन् गम खाँदै केही सम्झेझैँ गरि हर्के भन्छ, ‘अँ अँ, बिराटनगरमा पनि केही दिन अगाडि सरकारको पार्टीका कार्यकर्ता र तिनका नजिकका उद्योगपति, व्यापारिहरुलाई छानिछानि सिटि बजार हो कि के मा सुटुक्क बोलाएर कोरोना खोप ख्याप्पै लगाए भनेर फ्याँसबुकतिर सम्चार आको थियो हो कि साँइला दाई । अन्त खेरि कोरोना खोप बनाउने इन्डियाको सिरम कम्पनीले नेपाल सरकारले दशलाख डोज कोरोना खोप किन्न पठाको पैसा क्वाप्लक्कै खायो अरे त । खोप पठाउन सक्दिन पो भन्छ अरे ।’
साँइला कसैलाई गिज्याएजस्तो गरेर ङिच्च दाँत देखाउँदै भन्छ, ‘बल्ल कुरो बुझेउ हर्के भाइले । जिल्लातिर आका खोप पनि पौँचवालाहरुले नै हानेर सके होलान् । यसरी खोप जति ठूलाबडा र पौँच भकाले हानेर सकिहाल्छन् । भएन खोप किन्ने पैसा पनि इन्डियाले पचाउँछ । अनि तिमी हामी जनता त कोरोनाले सोत्तर ।’ साँइलाको कुरा सुनेर हर्के तरङ्ग तर्सिन्छ । भन्छ, ‘आबुइ हौ त्यसो नभन न साँइला दाई । मेरो त सातो नै गयो हाव ।’ सम्हालिँदै हर्के पुनः भन्छ, ‘त्यै त साँइला दाई ! हामी सर्बसाधारण जनताले कहिले हान्न पाउने त कोरोना खोप ?’
साँइला गम्भीर स्वरमा भन्छ, ‘हेर है हर्के भाइ ! हाम्रा भागमा ठूलाबडा र पौँचवालाले हानिसकेका कोराना खोपका रित्ता शिशिहरुमात्र बाँकी रहन्छन् जस्तो छ ।’ साँइलाको कुरा सुनेर हर्के हरेश खान्छ क्यार । उ खुइय आवाज निकाल्दै, पुपुरोमा हात राख्दै, ‘गएँ है साँइला दाई ! म त’ भन्दै बाटो लाग्छ ।
नभन्दै पालिका कार्यालयले कोरोना खोप लगाउने दिन तोक्दै माइकिङ्ग गर्छ । सूचना पनि जारी गर्छ । जनताहरु खुशी हुन्छन्, लौ कोरोना खोप लगाएर ज्यान जोगिने भो अनि सरकार र पालिकाले राम्रो काम गरे भनेर ।
कोरोना खोप लगाउने आफ्नो पालो परेकादिन जनताहरु खोप केन्द्रतिर लाग्छन् । यता साँइला र हर्के पनि खुशी हुँदै खोप केन्द्रतिर लाग्छन् आआफ्ना जहान परिवारसँगै । तर, दिनभरी लाईन लाग्दा पनि कोरोना खोप लगाउने पालो आउँदैन । जनताहरु कोरोना खोप लगाउने स्वास्थकर्मीसँग सोधपुछ र कचिङ्गल गर्न थाल्दछन् किन हाम्रो पालो आएन ? भनेर । स्वास्थ्यकर्मीहरु भन्छन्, ‘देख्नु भएन ? कोरोना खोप मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यहरु अनि उहाँहरुका जहानपरिवार र नातेदारहरुले पहिला लगाउनु पर्ने भएकाले तपाईहरुको पालो नआएको । अब भोलि आउनु ।’
भोलिपल्ट जनताहरु खोप केन्द्रमा पुग्छन् । साँइला र हर्केपनि हिजैकाजसरी जहान परिवारसहित कोरोना खोप लगाउन खोप केन्द्र तोकिएको समयमै पुग्दछन् । तर पनि पालो आउँदैन । भएछ के भने, कर्मचारीहरु, शिक्षकहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, मेयर, उपमेयर र अन्य पदाधिकारीका चिनेजानेकाहरु, तिनका बिजिनेश पार्टनर, ठेकेदार, टाठाबाठाले पालो मिचेर कोरोना खोप लगाएकाले दोस्रो दिन पनि सर्वसाधारणले खोप लगाउन पाएनन् । स्वास्थ्यकर्मीहरु सर्वसाधारण जनताहरुलाई अर्कोदिन आउन भनेर पठाउँछन् । तेस्रो दिन खोप केन्द्र पुग्दा त नचिनेका मान्छेहरु र अर्का पालिकाका नेताहरुका मान्छेहरुको भिड लागेका देखिन्छन् ।
अब चाहिँ जनताहरुले कुरा बुझ्दछन्, यहाँ केही गडबढी भैइरहेको छ भनेर । जतनाहरुले धाँधली भएको भन्दै होहल्ला गर्न थाल्दछन् । ‘हाम्रो पालिकाका लागि आएका खोप अर्का पालिकाका मान्छेहरुले लगाउन पाँइदैन’ भन्दै नारा लगाउन थाल्छन् । यत्ति नारा के लगाउँछन् विजुली चम्केको गतिमा जनताहरुका टाउँकामा लाठी बज्रन थाल्छन् । स्थिति तनावपूर्ण हुन्छ । स्वास्थ्यकर्मीहरुले गाउँलेहरुलाई अर्को दिन आउन सल्लाह दिन्छन् ।
अर्कोदिन जनताहरु कोरोना खोप केन्द्र पुग्दछन् तर स्वास्थ्यकर्मीहरु खोप लगाउने छाँट देखाउँदैनन् । किन त ? भनेर जनताहरुले सोध्दा, ‘खोप नै सकियो’ भन्ने उत्तर पाउँछन् । ‘कसरी सकियो जनताले लाउँदै नलाइकन ?’ भनेर सोध्दा ‘रातभरी अन्यतिरका पौँचवाला मान्छेहरुलाई लगाएर सकियो’ भन्छन् । गाउँलेहरु नारा लगाउन थाल्छन् । अघिल्ला दिनको जसरी नै विजुली चम्केको गतिमा जनताहरुमाथि लाठी चार्ज हुन्छ । आजचाहिँ जनताहरु प्रतिकारमा उत्रन्छन् । स्थिति थेग्न नसक्ने हुँदै जान्छ । बाध्य भएर स्वास्थ्यकर्मीहरु जनताहरुलाई खोप लगाउन थाल्दछन् ।
तर, सोझा जनताहरुलाई के थाहा उनीहरुलाई हिजोअस्तितिरै अरुलाई लगाइसकेका कोरोना खोपका खाली शिशिमा त्यतिकै सुई चोबेर हावामात्र तानेर जनताहरुलाई लगाइरहेका छन् भनेर । यत्तिकैमा साँइलाको पालो आउँछ । साँइला स्वास्थ्यकर्मीलाई सोध्छ, ‘बहिनी ! कोरोना खोपको शिशिमा दवाई नै छैन जस्तो छ त ?’ स्वास्थ्यकर्मी महिला भन्छिन्, ‘छ छ केही त छ ।’ साँइला पुनः सोध्छ, ‘खोइत सुईमा पनि केही देखिदैन त सिस्टर ?’ साँइलाको प्रश्नमा सिस्टर भन्छिन्, ‘होइन हामी स्वास्थ्यकर्मी कि तपाईहरु ? अब हामीले दवाई छ भनेपछि छ के ।’ सुई लगाइसकेपछि साँइला ‘लौ हामी सोझा जनतालाई त खाली शिशिमात्र बाँकी राखेछन्’ भन्दै होहल्ला गर्न थाल्छ ।
अब पालो आउँछ हर्केको । हर्केपनि साँइलाले जसरी नै जिज्ञासा राख्छ, ‘होइन बहिनी ! हामी जनताले चाहिँ खाली शिशिको हावा मात्र लगाउने हो ?’ स्वास्थ्यकर्मी भन्छिन्, ‘खोपजति अन्य पालिकाका पहुँचवालाहरुलाई लगाएर सकियो क्या । तै पनि बाहिरका मान्छेहरुलाई लगाएका खोपका शिशिमा रहेका रहलपहल भएपनि तपाईहरुलाई लगाइदिएको नि ।’ बीचैमा हर्के प्रश्न गर्छ, ‘अन्तका मान्छेहरुलाई खोप लगाएपनि खोप नसकिनु पर्ने हो त ? किनकि हामी जनताहरुभन्दा अन्तका मान्छेहरु धेर नहुनु पर्ने हो ।’ यत्तिकैमा वडा अध्यक्ष आएर भन्छन्, ‘ए हर्के, कति कचकच गरिरहन्छस् । खोप हान् र खुरुक्क गइहाल ।’ तर हर्के भन्छ, ‘त्यसो भा कोरोना खोपले भरिएको शिशिको खोप लगाइदिनुहोस् न त ।’ वडा अध्यक्ष झोँकिदै भन्छन्, ‘यस्ले किन कुरा नबुझेको होला ? हरे शीव । अब माथिबाट आदेश आएपछि हामीले के गर्नु ? आधाउधी कोरोना खोप त प्राइभेट अस्पतालहरुलाई बेचियो के हर्के भाइ । अब तिमीलाई कोरोना लाग्यो भने त्यै प्राइभेट अस्पतालतिरै जानु ।’ अब भने जनताहरु तर्कवितर्क गर्न लाग्छन्, ‘भएको खोप बेच्ने अनि जनतालाई चाहिँ खाली शिशीमात्र बाँकी राख्ने ?’ भनेर ।
यत्तिकैमा मेयर आइपुग्छन् र भन्छन्, ‘तिमी सर्वसाधारण जनताहरुलाई खाली शिशि भए पुग्छ । कमसेकम कोरोना खोपको शिशिको हावा त लगाउन पाएका छौ । त्यो हावामा पनि कोरोना खोपको तत्व हुन्छ’ भन्छन् । ‘मैले मेरो पालिकामा यत्ति काम त गरेको छु । अरु तिर त त्यै खालि शिशि र हावा पनि पाएका छैनन् ।’
यत्तिकैमा उपमेयर पनि भन्छिन्, ‘अरुतिर त कोरोना खोपलाई बेरेर ल्याएको कुटको खोस्टा पनि पाएका छैनन् । तिमी जनताहरु धेरै करायौ भने त्यही खोस्टा बाँडिदिउँला अनि घरमा गएर कुटुकुटु खानु क्या ।’
मेयर, उपमेयरले नै यस्तो भनेपछि त्यहाँ होहल्ला हुन्छन् । नाराबाजी हुन्छन् । अन्तमा मेयर, उपमेयर, वडा पदाधिकारीहरु सबैले एकै स्वरमा भन्छन्, ‘तिमी जनताहरुलाई दिने यत्ति नै हो, कोरोना खोपको खाली शिशि र हावा अनि खोस्टा ।’
कथा प्रस्तुती : भुवन तामाङ