काठमाडौं। भारतको जम्मु–कश्मीरस्थित पहलगाममा सोमबार भएको आतंकवादी आक्रमणमा परी नेपाली नागरिक सुदीप न्यौपानेको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख प्रकट गरेको छ।
पार्टीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको हो। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
“यस्तो जघन्य, कायरतापूर्ण आक्रमण मानवतामाथिको गम्भीर चुनौती हो। कुनै पनि राजनीतिक, धार्मिक वा वैचारिक कारणले यस्तो हिंसा उचित ठहरिँदैन,” विज्ञप्तिमा भनिएको छ।
रास्वपाले आतंकवादको सबै रूपको स्पष्ट शब्दमा निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। पार्टीले यस्ता घटनाविरुद्ध अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै हिंसाको चक्र अन्त्य गरी शान्ति र मानवीय मूल्यको रक्षा गर्न आग्रह गरेको छ।
“शोकको यस घडीमा हामी मृतकका परिवारजनसँग ऐक्यबद्ध छौं। साथै, मित्र राष्ट्र भारतलाई पनि पूर्ण समर्थन र सहकार्य प्रकट गर्छौं,” कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले यस्तो पीडादायक घडीमा देशभित्र र बाहिरका नेपाली नागरिकहरूको सुरक्षाप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ।
