जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसारन उपत्यकामा मंगलबार दिउँसो भएको भीषण आतंकी हमलामा परि २६ जनाको ज्यान गएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मारिनेमा नेपालका सुदीप न्यौपाने पनि परेका छन्। बाँकी मृतकहरू भारतका विभिन्न राज्यहरू—उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक, गुजरात, तमिलनाडु, ओडिशा—र युएईका नागरिक रहेको बताइएको छ। साथै, दुई जना स्थानीय बासिन्दाको पनि ज्यान गएको छ।
घटना दिउँसो करिब २:४५ बजे भएको हो। रिपोर्टअनुसार, आतंककारीहरूले उत्तर प्रदेशका शुभम द्विवेदीसँग पहिचान सोधेर टाउकोमा गोली प्रहार गरेका थिए। उनी दुई महिनाअघि मात्र विवाह गरेर पत्नीका साथ हनिमून मनाउन गएका थिए। त्यसपछि आतंककारीहरूले अन्य पर्यटकमाथि अन्धाधुन्ध गोली चलाएको जनाइएको छ। लश्कर–ए–तैयबाले हमलाको जिम्मेवारी लिएको छ।
सुरुवातमा प्रशासनले एक जनाको मृत्यु भएको पुष्टि गरे पनि केही घण्टापछि समाचार एजेन्सीहरूले २६ जनाको मृत्यु भएको जानकारी दिएका छन्। हमलामा २० भन्दा बढी घाइते छन्।
घटनापछि सुरक्षाबलहरूले पहलगाम क्षेत्र घेराबन्दी गरी हेलिकप्टरमार्फत निगरानी गरिरहेका छन्। घटनाको अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) को टोली बुधबार पहलगाम पुग्नेछ।
गृहमन्त्री अमित शाह श्रीनगरमा सेना तथा प्रशासनका उच्च अधिकारीहरूसँग आपतकालीन बैठकमा व्यस्त छन् भने रक्षामन्त्री राजनाथ सिंहले सेना प्रमुखसँग सम्पर्क गरेर घटनाबारे जानकारी लिएका छन्।
जम्मू चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले घटनाको विरोधमा बुधबार जम्मू बन्दको आह्वान गरेको छ। दिल्ली, मुम्बईसहितका प्रमुख सहरमा सुरक्षा सुदृढ पारिएको छ।
मृतकहरूको नामावली:
मनुज नाथ, शिवम मोगा, लेफ्टिनेन्ट विनजय नरवाल, हिमांशी नरवाल, शुभम द्विवेदी, दिलीप डेसले, अतुल मोहने, सैयद हुसैन शाह, सुदीप नेउपाने, बिटन अधिकारी, उधवानी कुमार, संजय लेले, हिम्मत कलाथय, प्रशान्त कुमार, मनीष राजन, रामचन्द्रन, शलिन्दर कल्पिया।
घाइतेहरूमा:
विनो भट्ट, एस. बालचन्द्रु, अभिजवन राव, संतरु, साहसी कुमारी, डा. परमेश्वर, माणिक पाटिल, रिनो पाण्डे।
यो हमला २०१९ को पुलवामा घटनापछि जम्मू–कश्मीरमा भएको सबैभन्दा ठूलो आतंकी हमला मानिएको छ। यसले पुनः एकपटक कश्मीरको सुरक्षा अवस्थामाथि र पर्यटकहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।