जाँडरक्सी खानेलाई सम्मान

सुन्दा अचम्म लाग्न सक्छ, जाँडरक्सी खानेलाई खोजी खोजी सम्मान । हाम्रो समाजमा जाँडरक्सी खानेलाई गाली गरिन्छ । प्रहरीले पक्राउ गर्छ र थाना चौकीमा लैजान्छ । उसलाई थुन्छ । कानुनी कारबाही गर्छ । तर, पाल्पामा भने ठीक उल्टो गरिएको छ । 

नियमित रूपमा जाँडरक्सी खाने व्यक्तिलाई खोजीखोजी सम्मान गरिएको छ । रिब्दीकोट गाउँपालिकाले पालिकाभरीका नियमित रूपमा जाँडरक्सी खाने ६० जनालाई गाउँपालिकाकै कार्यालयमा जम्मा गरी टिका, फूलमाला लगाएर र पोसाक वितरण गरी सम्मान गरेको छ । 

EPIC EPIC EPIC

रिब्दीकोट गाउँपालिका १ ख्याहाका एक पुरुष रक्सी खाएरै श्रीमतीसहित गाउँपालिकाको सभाहलमा छिरे । आफू जस्तै नियमित रक्सी खाएर हिँड्ने दर्जनौं व्यक्तिलाई गाउँपालिकाले टीका, फूलमालासहित पोसाकबाट सम्मानित गरेको देख्दा उनी निकै खुसी देखिए । मञ्चमा गए । रक्सीको नसाले आफूलाई बहुला बनाएको गीत उनले गाए । कक्षा ८ मा पढ्दै गरेको छोरीलाई सम्झिए र भने, ‘छोरी अब चिन्ता नलिउ, मैले आजदेखि रक्सी खान छोडें । तिमीलाई चाहेजति पढाउने प्रतिबद्धता जनाएँ ।’ सम्मानित भएका सबै रक्सी खानेहरूले ताली पिटे । मञ्चमा बसेका अतिथिहरूले समेत आँसु झारे । 

रिब्दीकोट ३ खस्यौलीका अर्का पुरुषले पालिकाको सम्मान कार्यक्रममा आउँदासम्म बिहानदेखि ३ गिलास रक्सी खाइसकेका थिए । गाउँपालिकामा प्रहरीहरू देख्दा आफूलाई पक्राउ गर्न बोलाएको हो कि जस्तो सन्तलाई लागेको थियो । तर, रक्सीकै नसामा पनि गाउँपालिकाले फूलमालाले सम्मान गरेपछि उनको दिमागमा केही हलचल भयो । ‘साथीभाइको संगतले रक्सी खान सिकियो, रक्सीले त हाम्रो जीवनै बर्बाद पारेको रहेछ ।’ आजैदेखि रक्सीको मात्रा घटाएर छोड्ने उनले मञ्चमै पुगेर वाचा गरे । 

पालिकाभित्र जाँडरक्सी सेवनबाटै धेरै मानिसको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, परिवार, समाजमा दिनहुँँ झंै झगडा कलह भएको, अन्त्यमा कम उमेरमै मृत्यु भइरहेका घटनाहरूलाई ध्यान दिएर रिब्दीकोट गाउँपालिकाले सम्मान गरेको हो । स्थानीय सरकार भनेकै जनताहरूको दुःखमा साथ दिने, सु–संस्कृत समाज निर्माण गर्ने, विकृति विसंगति हटाउने, समाजमा मेल मिलापको वातावरण बनाउने, जनताको अभिभावकत्व ग्रहण गर्ने भएकाले गाउँपालिकाले नियमित जाँडरक्सी खाने व्यक्तिलाई खोजी खोजी सम्मान गरेर रक्सी खाने मन विचार बुद्धिलाई सही काममा मोड्नका लागि पहिलोपटक अभियान सुरु गरेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । 

गाउँपालिकाले पुरुष मात्र होइन नियमित रक्सी सेवन गरी घरवार लथालिंग भएका महिलालाई पनि फूलमालाले सम्मान गरेको छ । 

विकास निर्माणसँगै, सभ्य समाज निर्माण गर्नु, समाजमा हुने विकृति विसँगति हटाउनु, गलत बाटो तथा संस्कारमा लागेका व्यक्तिहरूलाई साहारा दिई सुधार गर्नु स्थानीय सरकारको कर्तव्य र दायित्व भएकोले यो अभियान सुरु गरेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन्् । स्थानीय सरकार घरदैलोको सरकार भएकोले गाउँघरमा रहेको विकृति विसँगति हटाउने, जाड रक्सीमा बरालिएर घरवार विगारेकालाई सुधार गर्ने, नैतिक शिक्षा प्रदान गर्ने, सभ्य समाज निर्माण गर्ने जिम्मेवारी पनि पालिकाको भएकोले अन्यत्र नभएको चलन रिव्दीकोटले सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले बताए । 

पालिकाभरीका नियमित जाँड रक्सी खाने अम्मलीहरू लाई सम्मान मात्र होइन उनीहरूलाई रक्सी सेवनबाट हुने स्वास्थ्यमा प्रभाव, पारिवारिक अवस्था, समाजमा पार्ने प्रभाव, कानुनी दण्ड सजायसँगै कम उमेरमा हुने मृत्युको बारेमा पूर्व पत्रकार राम प्रसाद न्यौपाने, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, प्रहरी हवलदार गोबिन्द किसानले प्रशिक्षण दिएका थिए । पालिकाले रक्सी छोड्ने युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा प्राथमिकता दिने रोजगार संयोजक दुर्गा पछाईले बताइन्् । 

जाड रक्सीमा भुलेका युवालाई श्रम र सिप, आय आर्जनसँग जोड्ने गरी गाउँपालिकाले नीतिगत व्यबस्था गर्ने विषयमा छलफल सुरु भएको पालिकाका सूचना अधिकारी टुकलाल भट्टराईले बताए । कार्यक्रममा आएका अति विपन्न एवं आर्थिक अवस्था कमजोर भएका ३० घरपरिवारलाई पालिका अध्यक्ष कार्कीले आफ्नो तलव भत्ताबाट निःशुल्क रूपमा स्वास्थ विमा गरिदिएका छन् । 

गाउँपालिकाले ‘म बनाउँछु मेरो रिव्दीकोट’ अभियान अन्तर्गत निःशुल्क रूपमा नियमित रूपमा सरसफाइ, वडा वडामा योग शिक्षा तथा प्रशिक्षण, विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च