इलाम, साउन ६ – एच.के.आर. इन्टरटेन्मेन्टको प्रस्तुति ‘जिन्दगी लफडै लफडा’ हास्य टेलिफिल्म आज मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध आयाम समेटिएको टेलिफिल्मले मनोरञ्जनका साथ–साथै गहिरो सामाजिक सन्देश दिने निर्माण पक्षको दाबी छ।
टेलिफिल्मको छायांकन इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे, सूर्योदय नगरपालिका–१ मा गरिएको हो। यसमा गाउँघरको मौलिक भाषा, संस्कृति, बोलीचाली र जनजीवनलाई जीवन्त रूपमा उतारिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बसोबास गर्ने नेपालीहरूको कथा समेट्दै समग्र नेपाली समाजको विविधता उजागर गर्ने प्रयास गरिएको निर्माण टिमको भनाइ छ।
निर्देशक तथा कथाकार हिकस राईका अनुसार टेलिफिल्मले हाँस्य र भावना दुवै पक्षलाई समेट्ने कोशिस गरेको छ। “दर्शकले जहाँ हाँसोको खित्का पाउनेछन्, त्यहीँ कतैकतै आँसुका थोपा पनि झर्नेछन्,” राईले बताए।
टेलिफिल्ममा इलामका चर्चित युवा पत्रकार बिक्रम सुन्दासले ‘मोहनलाल’ पात्रको भूमिकामा दमदार अभिनय गरेका छन्। उनीसँगै मोडल मुकेश गुरुङ (चुलबुले), साहिल कार्की (भैरे), विपना लेप्चा (आमा), हेम गेशा (देशी कान्छा), निकिता राई (चाँचरी), कुलमित लेप्चा (ठूली), प्रमोद शुब्बा (सालो), सुचन सम्पाङ राई (छोरा), र निर्देशक हिकस राई स्वयं विदेशी पात्रको भूमिकामा देखिएका छन्।
‘जिन्दगी लफडै लफडा’ एच.के.आर. इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।
दर्शकको माया र साथप्रति टिम आशावादी रहेको टेलिफिल्मका मुख्य कलाकार बिक्रम सुन्दासले बताएका छन्।