झापा। जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त बनेको कचनकवल गाउँपालिकाले अहिले नवनिर्मित १५ शैयाको आधारभूत अस्पताल भवनबाट आकस्मिक रूपमा सेवा सञ्चालन गरिरहेको छ।
मुख्य प्रशासनिक भवन पूरै नष्ट भएपछि आवश्यक कागजात र उपकरण हराए पनि सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्थायी रूपमा सेवा पुनःव्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए।
उनका अनुसार, हालसम्म गाउँपालिकाको करिब १० करोड रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। पूर्वाधार शाखा प्रमुख डिल्लीराम गौतमको नेतृत्वमा वडा नम्बर ४, ५, ६ र ७ मा क्षति विवरण संकलनको काम भइरहेको छ। समितिले विस्तृत प्रतिवेदन तयार गर्न तीव्रता दिएको भए पनि चारवटै वडाबाट अन्तिम विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ।
गाउँपालिकाले हाल श्रम तथा सामान्य सिफारिस सेवा सुरु गरेको छ भने नयाँ योजना तिहारसम्म सम्झौता नगर्ने निर्णय गरेको छ। तर, पहिले नै ठेक्का लागेका र निर्माणाधीन योजना भने यथावत रूपमा सञ्चालनमा रहेका छन्। ठेक्का नलागेका योजना संघीय सरकारको अर्को निर्णय नआएसम्मका लागि स्थगित गरिएको गाउँपालिकाले जनाएको छ।
यद्यपि तलबभत्ता वितरण नियमित रूपमा भइरहेको छ। स्वास्थ्य सेवा पनि अवरोधबिना सञ्चालनमा छ। सामाजिक सुरक्षा भत्ता वितरण र नविकरण कार्य निरन्तर जारी छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका सेवा पूर्ण रूपमा सञ्चालनमा रहेका छन्।
पशु सेवा क्षेत्रमा कृत्रिम गर्भाधान र पशु बीमा कार्य अस्थायी रूपमा रोकिएका छन्, तर चरन तथा खोरेत रोगविरुद्धको खोप अभियान भने निरन्तर चलिरहेको छ। सिँचाइ मिटर सिफारिस र सामान्य प्रशासनका कागजी प्रक्रिया पनि जारी रहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए।
आन्दोलनका क्रममा कागजात र अभिलेख जलेर नष्ट हुँदा कतिपय सम्पन्न योजनाको भुक्तानी रोकिएको जनाइएको छ। यसबीच गाउँपालिकाले क्षतिग्रस्त सामग्री प्रतिस्थापनका लागि दराज, टेबल, कुर्सी र इन्टरनेट उपकरण खरिद गर्न सूचना जारी गरी अर्डर समेत दिइसकेको छ।
क्षतिग्रस्त वडा कार्यालयहरूको सरसफाइ र पुनःसंरचना कार्य सम्पन्न भएपछि सामान्य सिफारिस र कागजी काम पुनः सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार, “पालिका सञ्चालनमा चुनौती धेरै छन्, तर सेवामा अवरोध हुन नदिन हामी निरन्तर प्रयासरत छौं।”


















