काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या घटाएको छ। शुक्रबार राति ११ देखि १२ बजेको बीचमा सुरक्षा टोली फेरबदल गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
यसअघि डीएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई फिर्ता बोलाएर ९ नं बाहिनी बलम्बुमा कार्यरत डीएसपी प्रमोद प्रकाश पाठकको नेतृत्वमा १६ जनाको नयाँ टोली खटाइएको हो।
भीभीआईपी सुरक्षा मापदण्डअनुसार १६ जना सुरक्षाकर्मी पाउने भए पनि सरकारले यसअघि २६ जना खटाउँदै आएको थियो। शुक्रबारको हिंसात्मक घटना ज्ञानेन्द्र शाहकै कारण भएको निष्कर्ष निकाल्दै सरकारले उनलाई दिइएको सुरक्षा सुविधामा पुनर्विचार गर्ने क्रममा सुरक्षाकर्मीको टोली परिवर्तन तथा संख्या कटौती गरेको बताइएको छ।



















