झापा। झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुल मुनि एक पुरुषको शव फेला परेको छ।
आइतबार दिउँसो करिब १ बजे खोलामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर शवको पहिचान गरेको थियो।
शव झापाको शिवसताक्षी नगरपालिका–१ निवासी ८० वर्षीय प्रभाकर पोखरेलको भएको खुलेको छ।
प्रारम्भिक अनुमानअनुसार पोखरेललाई खोलाको बहावले बगाएर उक्त स्थानसम्म ल्याएको हुनसक्ने बताइएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट थप टोली घटनास्थल पठाइएको प्रहरीले जनाएको छ।
दिउँसो करिब २:४५ बजे शवको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।