कनकाई । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा पिकनिक गएर फर्केको बसले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलामको कन्यामबाट इटहरीतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा गए राति (बुधबार) राति ८ बजे में ७ प २८४६ नम्बरको मोटरसाइकलमा सवार इलाम रोङ गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
तीव्र गतिको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।
प्रहरीले बस चालक इलाम चुलाचुली गाउँपालिका वडा नम्बर २ बस्ने सरोज ढकाललाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।