ताप्लेजुङ । चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी एफसीको चुनौतीलाई झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा शानदार जित दर्ता गरेको छ ।
उपाधिको दाबेदार मानिएको आर्मीको चुनौती रोक्न झापाले ३-० गोलको फराकिलो नतिजा निकालेको थियो । झापाका लागि कप्तान देवेन्द्र तामाङ, अभिषेक गुरुङ र हिसुब थपलियाले आकर्षक गोल गरेका हुन् ।
भरत खवास, नवयुग श्रेष्ठ, जितेन्द्र बस्नेतलाई मैदान उतारेको आर्मीविरुद्ध देवेन्द्र, हिसुबलगायत ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी प्रतिस्पर्धामा थिए ।
दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफको पहिलो मिनेटमै झापाका अभिषेकले गोल गर्दै अग्रता बनाएका थिए । ९० मिनेटको पूरै समयमा झापाले आर्मिका गोलरक्षक नविन परियारको फाइदा लिएको थियो ।
यसैबीच, खेलको ६५औँ मिनेटमा पाएको फ्रिकिकमा कप्तान देवेन्द्रले प्रहार गरेको बलले सोझै गोलपोस्टको जाली चुमेपछि २-० गोलको अग्रता बनाएको थियो ।
आर्मीले अपेक्षित खेल खेल्न नसकेपछि ताप्लेजुङका समर्थक झापाको समर्थनमा उर्लिएका थिए । दोस्रो गोल भएको एक मिनेट नबित्दै झापाका हिसुब थपलियाले गोल गर्दै फराकिलो अन्तर निकाले ।
आर्मीका गोलरक्षक नविनलाई वान भर्सेज वानमा बिट गर्दै हिसुबले रित्तो पोष्टमा बिना बाधा गोल गर्न पुगेका हुन् । खेलको म्यान अफ दी म्याच झापाका देवेन्द्र तामाङ भए । उनले नगद ५ हजार पाए ।
झापाको जितसँगै सेमी समिकरण पूरा भएको छ । भोलि आयोजकका तर्फबाट संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र मोरङको सगरमाथा युथ क्लबले पहिलो सेमिफाइनल खेल खेल्नेछन् ।
भदौ १० गते हुने फाइनल खेलको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी पाउने छ । गोल्डकप लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको हो ।