झापा। शिक्षा विकास तथा समन्वय इकाई झापाले दिएको जानकारी अनुसार झापा जिल्लाबाट २०८१ सालको एसईई परीक्षामा नियमिततर्फ सहभागी भएका विद्यार्थीमध्ये ९ हजार ९९१ जनाले सफलता हासिल गरेका छन्। यो कुल सहभागीको करिब ६६ प्रतिशत हो।
जिल्लाभरबाट नियमिततर्फ कुल १५ हजार १९७ जना विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये कक्षा ११ मा अध्ययन गर्न योग्य हुने विद्यार्थीको संख्या ९ हजार ९९१ रहेको छ। यसको अर्थ झापाबाट एसईई परीक्षामा सहभागी करिब ३४ प्रतिशत विद्यार्थीले अब ग्रेडवृद्धि परीक्षा दिनुपर्ने भएको छ।
नतिजामा उल्लेख्य सुधार
गत वर्षको तुलनामा यस वर्ष झापाको नतिजामा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष ४७ प्रतिशत विद्यार्थी मात्र कक्षा ११ अध्ययनका लागि योग्य भएका थिए। यस वर्ष यो संख्या १९ प्रतिशतले बढेर ६६ प्रतिशत पुगेको छ।
नियमिततर्फ ननग्रेडेड भएका ५ हजार २०६ जना परीक्षार्थीले आगामी साउन २९ गतेदेखि सुरु हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।
सफल भएका विद्यार्थीमध्ये १ हजार ५२८ जनाले ३.६ भन्दा माथिको जीपीए प्राप्त गरेका छन्। यस्तै, ३ हजार ४३२ जनाले ३.२१ देखि ३.६ सम्म जीपीए ल्याएका छन्।
३ हजार ३०५ जनाले २.८१ देखि ३.२ जीपीए प्राप्त गर्दा १ हजार ५८३ जनाले २.४१ देखि २.८ जीपीए ल्याएका छन्। सबैभन्दा कम जीपीए (२.२१ देखि २.४) प्राप्त गर्ने विद्यार्थीको संख्या १४३ रहेको छ।
यो नतिजाले झापामा शैक्षिक गुणस्तरमा सुधार आइरहेको संकेत गर्छ, यद्यपि अझै ठूलो संख्याका विद्यार्थीलाई थप अवसरको आवश्यकता देखिन्छ।