बनियानी, १२ चैत – झापा जिल्लामा पछिल्लो आठ महिनाको अवधिमा सवारी दुर्घटनाका कारण ६६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्ममा ८७१ वटा सवारी दुर्घटना भएका छन्, जसमा एक हजार ३९६ जना घाइते भएका छन् ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार साउनमा १०, भदौमा ६, असोजमा ११, कात्तिकमा १४, मंसिरमा १० तथा पुस, माघ र फागुनमा पाँच/पाँच जनाको मृत्यु भएको छ ।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ४५९ सवारी साधनलाई कारबाही गरिएको छ । ती सवारी साधनबाट कारबाही स्वरूप रु २ करोड ६६ लाख ६१ हजार राजस्व संकलन गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक पहल
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले तीन हजार ७८२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख ५५ हजार ५३ जना लाभान्वित भएको कार्यालयको तथ्याङ्क छ ।
त्यस्तै, झापामा ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । विद्यार्थीलाई ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम झापाका १५ वटै पालिकामा प्रस्तावित रहेको छ ।
प्रमुख पौडेलका अनुसार स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम अघि बढाइँदैछ । “जिल्लाका सबै पालिकासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्दैछौं,” उहाँले भन्नुभयो । तालिम पश्चात् योग्य शिक्षकहरूलाई ‘ट्राफिक शिक्षक’का रूपमा छनोट गरिने कार्यालयले जनाएको छ ।