झापा। झापामा यस वर्ष एसईई परीक्षा दिने विद्यार्थीहरूको संख्या वृद्धि भएको छ।
देशभर आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षामा झापाका परीक्षार्थीहरूको संख्या अघिल्लो वर्षको तुलनामा बढेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ।
गत वर्ष १५,८२२ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष १७,०२८ जना परीक्षार्थी परीक्षा दिनेछन्। नियमिततर्फ ७,७९३ छात्रा र ७,४०८ छात्र गरी १५,२०१ जना विद्यार्थी सहभागी हुनेछन्।
सामुदायिक विद्यालयका १३१ विद्यालयबाट ४,१७२ छात्रा र ३,६१८ छात्र गरी ७,७९० जना तथा संस्थागत विद्यालयका २३९ विद्यालयबाट ३,६२१ छात्रा र ३,७९० छात्र गरी ७,४११ जना नियमित परीक्षार्थी रहने छन्।
ग्रेडवृद्धि परीक्षामा सामुदायिक विद्यालयका ८४४ छात्रा र ७३७ छात्र गरी १,५८१ जना तथा संस्थागत विद्यालयका १४७ छात्रा र ९९ छात्र गरी २४६ जना सहभागी हुनेछन्।
समग्रमा सामुदायिक विद्यालयतर्फ ७,९६ छात्रा र ४,३५५ छात्र गरी ९,३७१ विद्यार्थी तथा संस्थागत विद्यालयतर्फ ३,७६८ छात्रा र ३,८८९ छात्र गरी ७,६५७ जना परीक्षार्थी रहनेछन्। साथै, प्राविधिक धारतर्फ २३९ छात्रा र २८३ छात्र गरी ५२२ विद्यार्थी सहभागी हुनेछन्।
यस वर्ष परीक्षा दिने परीक्षार्थीहरूमा दुई दृष्टिविहीन विद्यार्थीसमेत छन्, जो दमकस्थित सरस्वती माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षा दिनेछन्।
त्यस्तै, चारवटा संस्कृत विद्यालयका ५४ छात्रले परीक्षा दिनेछन् भने खुलातर्फका दुई परीक्षा केन्द्रमा ३५ छात्रा र २३ छात्र गरी ७६ जना परीक्षार्थी रहनेछन्।
झापामा यस वर्ष ५७ वटा परीक्षा केन्द्र यथावत रहने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ।