झापा। सत्तामा रहेको नेकपा एमाले र प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरेर जेनजी आन्दोलन शुरु भएपछि एमालेबाट राजीनामा दिनेहरुको संख्या थपिदै गएको छ ।
एकपछि अर्को गर्दै पार्टीका जिम्मेवार व्यक्तिहरुले राजीनामा दिइरहेका छन् । एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको राजीनामाको संख्या धेरै छ ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवेन्द्रप्रसाद चम्लागाँईले एमाले गाउँ कमिटी बाह्रदशीलाई आफू एमालेको साधारण सदस्यसमेत नरहने गरि सबै जिम्मेवारीबाट अलग भएको राजीनामा बुझाएका छन् ।
त्यस्तै कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले नेकपा एमालेको कुनै पनि पद र पालिकाको उपाध्यक्ष पदबाट समेत राजीनामा दिने निर्णय गरेकी छन् ।
त्यस्तै कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाँईले एमाले पार्टी र वडाध्यक्ष पदबाट राजीनामा दिएका छन भने एमालेका सदस्य तथा कनकाई माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाईले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
त्यस्तै नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य किशोर भट्टराईले २०६४मंसिर ४ गते लिएको सङ्गठित सदस्यता आजकै मितिबाट फिर्ता गर्दै कुनै पनि पार्टीको सदस्यता नलिने घोषणा गरेका छन् । त्यस्तै बाह्रदशी वडा नं ३ का वडा सदस्य हेमलाल दाहालले एमाले पार्टी परित्याग गरेका छन् भने मेचीनगर १ मा एमालेबाट निर्वाचित वडा सदस्य शान्ताकुमार न्यौपानेले पनि अब कुनै पनि पदमा नरहने घोषणा गरेका छन् ।
त्यस्तै कन्काई ७ का पत्रकार रामप्रसाद निरौलाले एमालेसहित यसको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको साधारण सदस्यसमेत नरहने बताएका छन् । त्यस्तै अनरोस्ववियुका बलराम गिरीले पनि पार्टी र संगठनमा नरहने घोषणा गरेका छन् भने बिर्तामोडका युवराज निरौला , टहलदास ओली , लक्ष्मीप्रसाद घिमिरे , गंगादेवी ओली , डिल्लीमाया आचार्यलगायतले पनि एमाले परित्याग गरेको जनाएका छन् ।