झापा। झापामा आगामी निर्वाचन सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) बन्न युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तोकिएको म्यादभित्र ५ हजार ४ सय ७९ जनाले आवेदन दिएका छन्। सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले दिएको जानकारी अनुसार जनपथ प्रहरीतर्फ ५ हजार २०१ जना र सशस्त्र प्रहरी बलतर्फ २७८ जनाको आवेदन परेको छ। यसरी आवेदन दिनेहरूमध्ये ३ हजार ९५० जना पुरुष र १ हजार ५२९ जना महिला रहेका छन्, जसले सुरक्षा निकायमा महिलाहरूको सहभागिता पनि उल्लेख्य रहेको देखाउँछ।
निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिले गत पुस २४ गते जिल्लामा कुल ४ हजार ७९७ जनशक्ति माग गरेको थियो, जसमा जनपथतर्फ ४ हजार ३०८ र सशस्त्रतर्फ ४८९ जनाको कोटा निर्धारण गरिएको थियो। माग संख्याभन्दा बढी आवेदन परेकाले छनोट प्रक्रिया प्रतिस्पर्धात्मक हुने देखिएको छ। निर्वाचन प्रहरीका लागि आवेदन दिने म्याद आज (आइतबार) सकिएको छ।
छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आवेदन दिएकाहरूका लागि आजै सम्पर्क मिति तोकिएको छ। डीएसपी खड्काका अनुसार भोलि सोमबारदेखि ८ गतेसम्म आवेदकहरूको शारीरिक तन्दुरुस्ती परीक्षण सञ्चालन गरिनेछ। सो चरण पार गर्नेहरूका लागि माघ १० गते लिखित परीक्षा र १२ गते अन्तर्वार्ताको मिति तय गरिएको छ। यी सबै प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन सुरक्षामा खटाइनेछ।



















