झापा । अबको शिक्षा विधेयक कस्तो हुनुपर्छ ? भन्ने तीनवटा शीर्षक छनोट गरी नेपाल विद्यार्थी झापाले भर्चुअल वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।
विद्यार्थीको आवाजः विद्यालय शिक्षा विधेयकलाई कसरी विद्यार्थीमैत्री बनाउने ? सामुदायिक विद्यालय र शिक्षा विधेयकः विद्यार्थीका पीडा वा परिवर्तन ? र शिक्षा विधेयक र विद्यार्थी आन्दोलनः किन जरुरी छ आवाज उठाउन , शीर्षक तय गरी भर्चुअल प्रतियोगिता सञ्चालन गरिएको नेविसंघ झापा सभापति सञ्जय निरौलाले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल निरासा, आक्रोश, असन्तुष्टि र गाली गलोज गर्ने सजिलो माध्यम बनिरहेको बेला सकारात्मक सन्देश दिनु पनि प्रतियोगिताको उद्देश्य भएको आयोजक संगठनले जनाएको छ । प्रतियोगीले तयार गरेका भिडियो अहिले नेविसंघ झापाको फेसबुक पेजमा राखिएको छ । भिडियोको भ्युज र लाइकलाई मूल्यांकनको मापदण्ड बनाइएको छ । जसको आधारमा प्रतियोगीले २५ अंकसम्म प्राप्त गर्न सक्नेछन् ।
एक विद्यालय, एक विद्यार्थी अवधारणामा आधारित भएर प्रतियोगीले आफ्नो रोजाईको शीर्षकमा ३ देखि ५ मिनेटको भिडियो बनाएर नेविसंघ झापाको फेसबुक पेजमा पठाउनु पर्ने नियमानुसार ४५ वटा भिडियो संकलन भएका मध्ये ३१ वटा भिडियो छनोट भएको प्रतियोगिता प्रतियोगिता संयोजक योगेन गोदार थापाले जानकारी दिनुभयो । विषयबस्तुको अन्तर्य र प्रस्तुतिको आधारमा निर्णायकले ७५ अंक दिन सक्ने नियम बनाइएको छ ।
आयोजक संगठनले नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौँलागाईंको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिएको छ । समितिमा नेपाल शिक्षक महासंघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल, नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल , डेमोक्रेटिक लयर्स एसोसिएसन झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी रहनु भएको छ।
प्रथम प्रतिस्पर्धीलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रोलाई पाँच हजार नगद र प्रमाणपत्र दिइने छ । अन्य पाँच प्रतिस्पर्धीलाई सान्त्वना पुरस्कर दिइने प्रतियोगिताका फोकलपर्सन खुम खड्काले जानकारी दिनुभयो ।
साउन ७ गते ९ बुधबार साँझ पेजमा राखिएका भिडियो १२ गते राति १२ बजेसम्म रहने छन् । त्यसपछि आएको लाइक र भ्युजलाई मूल्यांकनको आधार नहुने जनाइएको छ । भिडियोमा आएको लाइक र भ्यूजलाई २५ प्रतिशत र निर्णायकको निर्णयलाई ७५ प्रतिशत मानेर अन्तिम विजेता पेज मार्फत घोषणा गरिने छ ।
प्रतियोगिताको शुभारम्भ ४३ औं स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस झापा सचिव नविन बिमलीले साउन ६ गते साँझ डिजिटल माध्यमबाटै गर्नुभएको हो । फरक शैली, प्रविधिको प्रयोग गरेर सामाजिक सञ्जाल मार्फत पनि रचनात्मक काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्नु पनि प्रतियोगिताको उद्देश्य भएको बिमलीले बताउनुभयो ।
असार १५ गते संसदबाट पास गर्ने प्रतिबद्धता व्यक्त गरेर पनि विधेयक संसदमा अझै दर्ता नभएपछि सरकारलाई दबाब दिने उद्देश्यले नेविसंघले यो प्रतियोगिता आयोजना गरिको जनाइएको छ ।