झापा — झापा प्रहरीले करिब ३ करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार छली सामग्रीसहित तीनवटा भारतीय नम्बरका कन्टेनर नियन्त्रणमा लिएको छ।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा जेठ ४ गते साँझ करिब ७ बजे भारतबाट काकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका कन्टेनरहरूलाई गोप्य सूचनाको आधारमा रोकी जाँच गर्दा अवैध रूपमा भित्र्याइएको सामग्री फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएका कन्टेनरहरू क्रमशः एनएल०१एएच ५६७९, एनएल०१एन ९२२३ र एनएल०२एल ७४८६ नम्बरका रहेका छन्।
उक्त सामग्रीहरूको अनुमानित मूल्य करिब ३ करोड ६१ लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कन्टेनर र भन्सार छली सामग्री नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, ईटहरी, सुनसरीमा पठाएको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।