झापा। धान सुपरजोनका रूपमा चिनिएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँ कार्यमा निकै ढिलाइ भएको छ। हालसम्म जिल्लामा करिब ३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
झापामा औपचारिक रूपमा असार १ गतेदेखि धान रोपाइँ सुरु भए पनि पर्याप्त वर्षा नहुँदा अधिकांश क्षेत्रमा रोपाइँ थालिनसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए।
उनका अनुसार असार ७ गतेसम्म जिल्लाको करिब ३ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ। “सिंचाइ सुविधा भएका केही स्थानबाहेक अन्यत्र रोपाइँ थालिएको छैन,” भण्डारीले भने।
झापामा कुल खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ। तीमध्ये ७५ हजार ५५९.१८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ। तर झापाको कुल खेतीयोग्य जमिनमध्ये केवल ५०.५३ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा पुगेको छ। बाँकी क्षेत्रमा कृषकले आकाशे पानीमा भर परेर खेती गर्दै आएका छन्।
“बीउ तयार भएर पनि वर्षा नहुँदा कृषक रोपाइँ गर्न असमर्थ छन्,” भण्डारीले भने। हाल कतिपय स्थानमा कृषकहरूले अगुवा धान रोप्ने काम गरिरहेका छन्।
झापाका कचनकवल, झापा, गौरीगञ्ज, गौरादह र शिवसताक्षी क्षेत्रलाई धान उत्पादनको केन्द्रका रूपमा लिइन्छ।