झापा– दुई वर्षअघि महामारीकै रूप लिएर नियन्त्रणमा आएको लम्पी स्किन रोग यस वर्ष झापाको बिर्तामोडमा फेरि फैलिएको छ। पछिल्लो दुई सातायता देखा परेको यो रोगका कारण बिर्तामोडमा पाँचवटा चौपाया मरेका छन्।
बिर्तामोड नगरपालिका वडा नं ६ मा दुईवटा चौपायाले ज्यान गुमाएका छन् भने वडा नं ५, ७ र ९ मा एक–एकवटा चौपाया मरेको पुष्टि भएको छ। बिर्तामोड नगरपालिका–७ का ऋषिराज पौडेलको करिब पाँच महिनाको बहर लम्पी स्किनका कारण मरेको जनाइएको छ।
लम्पी स्किनविरुद्धको खोप लगाउँदै हिँडेका प्राविधिकहरूले संकलन गरेको तथ्यांकअनुसार बिर्तामोडमा पाँच सयभन्दा बढी चौपाया संक्रमित भएका छन्। टोल–टोलमा यो रोगको संक्रमण देखिएपछि बिर्तामोडमा लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरिएको छ।
खोप अभियान र निःशुल्क औषधि वितरण
नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काका अनुसार बिर्तामोडको ६, ७ र ९ नं वडामा खोप लगाइसकिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरबाट प्राप्त २५०० खोप लगाउने कार्य भइरहेको डा. खड्काले जानकारी दिए। उनले नगरपालिकाले थप ९०० खोप खरिद गर्ने तयारी गरिरहेको र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले थप एक हजार खोप उपलब्ध गराउने बताए। बिर्तामोडमा करिब १५ हजारको संख्यामा पशु चौपाया रहेको अनुमान छ।
यसैगरी, पशुपंक्षी तथा मत्स्य विकास शाखाले लम्पी स्किन लागेका चौपायाका लागि निःशुल्क औषधि वितरण पनि गरिरहेको छ। शाखाका अधिकृत सावित्राकुमारी दाहालका अनुसार हालसम्म कार्यालयमा आएका ३२ जना किसानलाई औषधि वितरण गरिएको छ।
देशभरको अवस्था र सावधानी
पशु सेवा विभागले यो वर्षको हालसम्म झापा, इलाम र रुकुम गरी तीन जिल्लामा लम्पी स्किन रोग देखिएको बताएको छ। प्राविधिकहरूले लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट गाईभैँसीमा सर्ने यो रोगप्रति विशेष सजगता अपनाउन सुझाव दिएका छन्। संक्रमित क्षेत्रमा अनुगमन र निगरानी भइरहेको प्राविधिकहरूको भनाइ छ।
गाईभैँसीमा उच्च ज्वरो आउने, दाना–पानी कम खाने र दूध उत्पादन घटाउने जस्ता लक्षण देखिएपछि परीक्षण गर्दा लम्पी स्किन पुष्टि हुने गर्दछ। यस्ता लक्षण देखिएपछि पशुको शरीरमा घाउहरू पनि देखा पर्छन्।
किसानहरू दुई वर्षअघिको जस्तै महामारीको रूप लिने हो कि भनेर चिन्तित छन्। यद्यपि, पशु सेवा विभागले यस पटकको संक्रमणले महामारीको रूप नलिने दाबी गरेको छ।