झापा — झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा एक पुरुषले मध्यरातमा श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३५ वर्षीय कविराज हेमरमले पारिवारिक झगडापछि ३४ वर्षीया श्रीमती पूजा हेमरमको हत्या गरेका हुन्। हिजो राति करिब ११ः२० बजे सुत्ने कोठामै कविराजले धारिलो खुकुरी प्रयोग गरी पूजाको घाँटीमा प्रहार गरेका थिए।
घटनापछि फरार भएका कविराजलाई प्रहरीले सुरुंगा सडकबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट खुकुरी बरामद गरिएको र घटनास्थललाई सुरक्षीत गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडबाट भइरहेको छ। मृतक पूजाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।



















