झापा। पानीमा डुबेर ज्यान गुमाउने घटनामा झापामा यस वर्ष असामान्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउन महिना पूरा नहुँदै मात्र ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
आज बिहान करिब ११ः३० बजे शिवसताक्षी नगरपालिका–१० र ७ को सिमाना टेक्रास्थित माईखोलामा कन्काई नगरपालिका–५ का ६० वर्षीय चन्द्रबहादुर बि.क. बेपत्ता भएका छन्। खोलाबाट दाउरा निकाल्ने क्रममा पानीको बहावले बगाएर उनलाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए।
गत आर्थिक वर्ष २०८१/८२ मा झापामा पानीमा डुबेर ३६ जनाले ज्यान गुमाएका थिए। यस वर्षको सुरुवातमै मृत्युको दर उच्च हुँदा स्थानीय तह र सुरक्षा निकायलाई सचेत रहन आग्रह गरिएको छ।