सन्तोष शर्मा
झापा । झापामा डेंगु संक्रमितको संख्या बढेको छ । जिल्लामा असार ३१ गतेदेखि साउन १५ गतेसम्म १६ दिनमा एक सय ९६ जना डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले जानकारी दिनुभयो ।
उक्त अवधिमा नौ सय १४ जनामा डेंगु परीक्षण गर्दा ८५ महिला र एक सय नौ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । डेंगु संक्रमितको संख्या क्रमशः बृद्धि हुँदै गएपछि साउन १ गतेदेखि दैनिक तथ्यांक संकलन गर्न थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार झापामा सोमबार मात्रै आठ जना नयाँ संक्रमित फेला परेका छन् ।
दमकका अस्पतालहरुबाट सबैभन्दा धेरै डेंगु संक्रमित फेला परेको तथ्यांक आएको छ । दमकका विभिन्न आठ वटा अस्पतालहरुबाट एक सय ३३ जना संक्रमित फेला तथ्यांक प्राप्त भएको सूचना अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।
त्यस्तै, बिर्तामोड नगरपालिकाबाट ४० जना, कनकाई नगरपालिकाबाट २२ जना, बुद्धशान्ति गाउँपालिकाबाट दुई, कमल गाउँपालिकाबाट पाँच र गौरादह नगरपालिकाबाट २० डेंगु संक्रमित फेला परेको तथ्यांक प्राप्त भएको कार्यालयले जनाएको छ ।
पानी परेको मात्राले डेंगु संक्रमण दरलाई प्रभाव पार्ने भएकाले हाल संक्रमण बढिरहेको जनाइएको छ । “पानी पर्दै, घामलाग्दै गर्नाले अहिले लामखुट्टेको लार्भा फस्टाउन मद्दत मिलिरहेको छ”, स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी लुइँटेलले भन्नुभयो, “अहिलेको मौसम लामखुट्टे फस्टाउन अनुकूल देखिएको छ ।”
बिर्तामोडमा एक जनाको मृत्यु
झापाको बिर्तामोडमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु समेत भइसकेको छ । बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले गत साउन ४ गते बिर्तामोड–५ का एक जनाको मृत्यु भएपछि परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको बताउनुभयो ।
बिर्तामोडमा बैशाख र जेठ महिनामा छ जना डेंगु संक्रमण देखिएकोमा असार र साउनमा उक्त संख्या बढेर ५२ पुगेको स्वास्थ्य शाखा प्रमुख विष्टले जानकारी दिनुभयो । “नगरमा डेंगुको संक्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “संक्रमण नियन्त्रणका लागि माइकिङ गर्नुका साथै यहाँका ११ वटा स्वास्थ्य संस्थाहरुमा सचेतनामूलक पोस्टर टाँसिएको छ ।”
बढ्दो डेंगु संक्रमण नियन्त्रण गर्न नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगरभरि लामखुट्टे र सोको लार्भा नष्ट गर्न औषधि छिट्ने निर्णय गरेको छ । औषधि आएपछि तुरुन्त स्प्रे गर्ने काम शुरु हुने विष्टले बताउनुभयो । हालसम्म फेला परेको डेंगु संक्रमितको अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लामा डेंगु संक्रमण बढे पनि चिन्ता चिन्ताजन नरहेको बताउनुभयो । उहाँले डेंगु नियन्त्रणका लागि पालिकाहरुले टोल विकास समिति परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान टोल–टोलमा परिचालन गरिएमात्र सफल हुने बताउनुभयो ।
जिल्लाका झापा गाउँपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, दमक नगरपालिका लगायतका पालिकामा नियन्त्रणका उपाय र सचेतनाका बारेमा अभिमुखीकरण कार्यक्रम भइरहेको स्वास्थ्य कार्यालय प्रमुख विष्टले बताउनुभयो । “हामीले पालिकाहरुमा गएर अभिमुखीकरण गरिरहेका छौ”, उहाँले भन्नुभयो, “कतिपय गइसक्यौं, कतिपयमा जाँदैछौं ।”
बजेट अभावका कारण भने जसरी काम गर्न नसकिएको सरोकारवाला निकायको भनाइ छ । कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्व यादवले स्वास्थ्य कार्यालय झापाले २० वटा डेंगु परीक्षण कीट उपलब्ध गराएको बताउनुभयो । “अहिले बजटे पनि अभाव छ”, उहाँले भन्नुभयो, “तर पनि सकेजति नियन्त्रणको काम गरिरहेका छौं ।”