झापा। झापा जिल्लामा कुष्ठरोगको सङ्क्रमण दर चिन्ताजनक रूपमा बढेको पाइएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ६ महिना (पुस मसान्त) को अवधिमा मात्रै जिल्लामा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार जिल्लाका १५ वटा पालिकाहरु मध्ये दमक र कचनकवलमा सङ्क्रमणको अवस्था उच्च देखिएको छ।
कहाँ कति भेटिए बिरामी?
तथ्याङ्क अनुसार सबैभन्दा बढी दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२–१२ जना नयाँ बिरामी भेटिएका छन्। अन्य पालिकाको अवस्था यस प्रकार छ:
* बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिका: ५–५ जना
* शिवसताक्षी नगरपालिका: ५ जना
* भद्रपुर नगरपालिका: ४ जना
* मेचीनगर नगरपालिका: ३ जना
* गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका: २–२ जना
* बुद्धशान्ति गाउँपालिका: २ जना
फोकल पर्सन दासले चालु आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये ५३ जनाले उपचार सेवा लििरहेको जानकारी दिएका छन्।
पाँच वर्षयता बढ्दो सङ्क्रमण दर
विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा झापामा कुष्ठरोगका बिरामीको सङ्ख्या निरन्तर उकालो लागिरहेको देखिन्छ। आर्थिक वर्ष २०७७–७८ मा जिल्लामा ९५ जना बिरामी फेला परेका थिए भने यो सङ्ख्या बढेर २०७९–८० मा १५७ सम्म पुगेको थियो।
सङ्क्रमण दरको हिसाबले हेर्दा, आव २०७७–७८ मा १.०२ प्रतिशत रहेको सङ्क्रमण दर बढेर आव २०८०–८१ मा १.४७ प्रतिशत पुगेको कार्यालयले जनाएको छ।
फोकल पर्सन दासका अनुसार विश्वमा बर्सेनि करिब दुई लाख र नेपालमा करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी थपिने गरेका छन्। उनले कुष्ठरोग कम सर्ने र सर्ने गरी दुई प्रकारको हुने बताए।
“बहु–औषधि उपचार पद्धतिद्वारा ६ देखि १२ महिनासम्म नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ,” दासले भने, “समयमै उपचार पाएमा यसबाट हुने अपाङ्गताबाट पनि बच्न सकिन्छ।”
लुकेर बस्ने प्रवृत्ति चुनौती
स्वास्थ्य कार्यालयले समाजमा व्याप्त अन्धविश्वास र अवहेलनाको डरले अझै पनि धेरै कुष्ठरोगीहरू खुलेर उपचारमा नआएको हुनसक्ने आशङ्का गरेको छ। “गाउँघरमा अझै पनि बिरामीहरू लुकेर बसेको अवस्था छ, त्यसैले सूक्ष्म रूपमा खोजपड्ताल गर्न आवश्यक छ,” दासले जोड दिए।



















