
बुद्धशान्ति (पालिका सन्देश) । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप देशभरका १७ लाख किशोरीलाई लगाउने तयारी गरेको छ । यो खोप अभियान आगामी माघ २२ देखि फागुन २६ सम्म देशैभरी सञ्चालन हुनेछ । खोप अभियानका क्रममा कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप दिइनेछ । विद्यालय बाहिरका १० देखि १४ वर्षका किशोरीहरूलाई अन्य केन्द्रमार्फत खोप लगाइनेछ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार, देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । खोपका लागि ८,२०० विद्यालयहरू खोप केन्द्रका रूपमा चयन भएका छन् । यसका लागि २७ हजार ८० स्वास्थ्यकर्मी र ५४ हजार १६० स्वयंसेवक परिचालन गरिनेछ । साथै १५ हजार ६७४ सुपरिवेक्षक खटाइनेछ ।
यता झापा जिल्लामा पनि ५५ हजार किशोरीलाइ खोप लगाइने तयारी भइरहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले बताएका छन् । उनले जिल्लाका १५ वटै पालिकाका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार ९ सय ९९ जना किशोरीलाई एचपिभी खोप लगाइने बताए ।
जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताए । “खोप अभियानका लागि तथ्याङ्क सङ्कलन, जनशक्ति व्यवस्थापनलगायतका काम भइरहेको छ”, उनले भने । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुनेछ ।
खोपले ९०–९५ प्रतिशत सम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइएको छ । नेपालमा यो क्यान्सरका कारण प्रत्येक दिन चारजनाको मृत्यु हुने गरेको तथ्यांक छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा पर्छ, जबकि विश्वव्यापी रूपमा यो चौथो स्थानमा छ ।