झापा – पछिल्लो आर्थिक वर्षमा झापामा ६२ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार ती सबैले गैरआवासीय नागरिकता लिएका हुन्।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वंशजको आधारमा २२ हजार ४० जनाले नागरिकता प्रमाणपत्र लिएका छन्। त्यस्तै, वैवाहिक अंगीकृत नागरिकता ६७५ जनालाई प्रदान गरिएको छ। सो अवधिमा २२ हजार ४५५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।
राष्ट्रिय परिचयपत्रको विवरण संकलनमा समेत प्रगति भएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार एक वर्षको अवधिमा १ लाख ७ हजार ७२ जनाको विवरण संकलन गरिएको छ। हालसम्म झापामा ३ लाख ५५ हजार ५ जनाको विवरण राष्ट्रिय परिचयपत्र प्रणालीमा समावेश भएको कार्यालयले जनाएको छ।
यसैबीच, राहदानी सिफारिसको संख्या पनि उल्लेख्य देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४३२ वटा राहदानी सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।