झापामा ६६ नयाँ कुष्ठरोगी फेला, हात्तीपाइले रोगीको संख्या २२०० पुग्यो

झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला

झापा, १९ माघ – चालू आर्थिक वर्षको साउनदेखि पुससम्म झापामा ६६ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जसमा छ जना बालबालिका रहेका छन्। स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन विरेन्द्र दासका अनुसार तीमध्ये ४७ जनामा धेरै किटाणु रहेको छ भने १९ जनामा कम किटाणु देखिएको छ।

जिल्लाका १५ पालिकामध्ये भद्रपुरमा सबैभन्दा धेरै ११ जना नयाँ बिरामी फेला परेका छन् भने कनकाई नगरपालिकामा कुनै पनि केस दर्ता भएको छैन। अन्य पालिकामा क्रमशः मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा (१–१), शिवसताक्षी (७), कमल (३), दमक (१०), गौरादह र गौरीगञ्ज (५–५), झापा गापा र बाह्रदशी (२–२), बिर्तामोड (६), हल्बारी (४) र कचनकवल (८) नयाँ बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

EPIC EPIC EPIC

आर्थिक वर्ष २०७९/८० मा १६० जना र २०८०/८१ मा १२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेको दासले जानकारी दिए।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार जिल्लामा हात्तीपाइले, कुष्ठरोग, डेंगु लगायतका उष्णप्रदेशीय रोगहरूको संक्रमण दर उच्च छ। हाल झापामा करिब २,२०० जना हात्तीपाइले रोगी छन्, जसमा ८०० जनाको शरीरका विभिन्न अंग सुन्निएको छ।

हात्तीपाइलेको निःशुल्क उपचार प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा उपलब्ध भए पनि लक्षित समुदायमा जानकारीको अभावका कारण धेरै बिरामी उपचारबिना घरमै बस्ने गरेका छन्।

प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि हात्तीपाइले रोगको छुट्टै ओपीडी सेवा सुरु गरिएको बताए। सरकारले वार्षिक २ लाख रुपैयाँ उपचार खर्चका लागि छुट्याए पनि यो रकम पर्याप्त नभएको उनले उल्लेख गरे।

“बिरामीलाई २०० रुपैयाँ मात्र यातायात खर्च दिने गरिन्छ, जुन अपुग छ,” उनले भने। हालै एक बिरामीको खुट्टाको शल्यक्रिया गर्दा अस्पतालले निःशुल्क सेवा दिए पनि उनलाई १ लाख २९ हजार रुपैयाँभन्दा बढी खर्च लागेको थियो। डा. काफ्लेले हात्तीपाइले रोगीलाई स्वास्थ्य बीमामा समावेश गर्न सके उपचार सहज हुने बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *