झापा।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा सञ्चालन भईरहेको झापा जिल्ला अन्तरपालिका पुरुष टी-२० क्रिकेट प्रतियोगितामा माघ १३ गते दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्।
प्रतिस्पर्धात्मक खेल सुपर ओभरमा झापा गाउँपालिकाले जित हासिल गर्यो। टस जितेर ब्याटिङ गरेको झापा गाउँपालिकाले २० ओभरमा १६३ रन बनाएको थियो। जवाफमा शिवसताक्षी नगरपालिकाले पनि समान १६३ रन बनाउँदै खेल सुपर ओभरमा पुर्यायो।
सुपर ओभरमा झापा गाउँपालिकाले दिएको १५ रनको लक्ष्य शिवसताक्षीले पूरा गर्न सकेन। झापाका सजाद आलमले ४ विकेट, २० रन र सुपर ओभरमा १ बलमा ६ रन बनाउँदै खेलको म्यान अफ दि म्याच घोषित भए। शिवसताक्षीका सुजन थपलियाले २८ बलमा विस्फोटक ९४ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।
दोस्रो खेलमा मेचीनगर नगरपालिकाले हल्दिबारी गाउँपालिकालाई १८६ रनको फराकिलो अन्तरले पराजित गर्यो। पहिले ब्याटिङ गरेको मेचीनगरले प्रतियोगिताको हालसम्मकै उच्च योगफल ३२० रन बनायो। कप्तान आयुष कार्कीले १२३ रनको सतकसहित उत्कृष्ट प्रदर्शन गरे। उनको साथमा बिराट डागीले ६२ रन र सन्दिप ढुंगानाले ६५ रन बनाए।
३२१ रनको लक्ष्य पछ्याउने क्रममा हल्दिबारी गाउँपालिका १३४ रनमै अलआउट भयो। आयुष कार्की म्यान अफ दि म्याच घोषित भए।
माघ १४ गते बुद्धशान्ति गाउँपालिका र गौराहदह नगरपालिकाबीच पहिलो खेल तथा कचनकवल गाउँपालिका र गौरिगञ्ज गाउँपालिकाबीच दोस्रो खेल हुने छ।