झापा। जेनजी आन्दोलनको प्रभावस्वरूप झापा गाउँपालिका अन्तर्गतका सातै वडाको कार्यालय भवनमा आगजनी हुँदा ठूलो क्षति भएको छ।
प्राथमिक विवरणअनुसार दुईवटा गाडी, तीनवटा सरकारी मोटरसाइकल, करिब ३० थान ल्यापटप, २० थान डेक्स्टप कम्प्युटर, ५५ वटा प्रिन्टर, ८ वटा स्क्यानर, ४ वटा माइक सेट, २० सेट आईपी फोन, ८ थान ट्याबलेट, २ सेट डिजिटल क्यामेरा, २ सेट टेलिभिजन, २५० थान सोफा सेट, ६० थान रिभल्भिङ चेयर, करिब ३०० वटा प्लास्टिक कुर्सी, १२० भन्दा बढी सिलिङ फ्यान, १८–२० वटा स्ट्यान्ड फ्यान, एम्प्लिफायर, साउण्ड बक्स, कार्पेट, स्टिल दराज, स्टिल र्याक, फर्निचर, सोफा, लोबेडसहित सिरक–डस्ना लगायतका सामग्री जलेर नष्ट भएका छन्।
त्यसैगरी, पालिकामा रहेका सम्पूर्ण कागजात, प्राविधिक शाखाका अभिलेख, महिला विकास, अपाङ्गता, शिक्षा, प्रशासन, स्वास्थ्य, रोजगारलगायत शाखाका कागजात, विभिन्न गाउँ कार्यपालिका, गाउँसभा तथा समितिका निर्णय कागजात, नाप–नक्सा, वर्गीकरणसम्बन्धी अभिलेख, जग्गाधनी पुर्जा, ब्लु बुक, राजस्व र आर्थिक सहायता वितरणका अभिलेख समेत पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ।
आगलागीमा १ लाख ५० हजार रुपैयाँ नगद, १५,९५० प्याकेट विद्यालयका लागि खरिद गरिएका स्यानिटरी प्याड, निशुल्क औषधि भण्डार, बजेट किताब २५० थान, सम्पूर्ण सीसी क्यामेरा, बायोमेट्रिक डिभाइस, इन्टरनेट राउटर, इन्भर्टर, १ थान सीआर मेसिन लगायतका सामग्री पनि जलेका वा हराएका छन्।
प्राथमिक विवरणअनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र स्थानीय जनप्रतिनिधि, कर्मचारी, प्रहरी, नागरिक, बुद्धिजीवी, राजनीतिक दल तथा नागरिक समाजको उपस्थितिमा विस्तृत मूल्यांकन र मुचुल्का तयार पारिने पालिकाले जनाएको छ।