झापा — झापा जिल्लामा विचरण गर्ने रैथाने जङ्गली हात्तीको पहिचान गरी नामकरण गरिएको छ। मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको सहकार्यमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले एक दशक लामो अध्ययनपछि हात्तीको व्यवहार र शारीरिक बनावटका आधारमा नाम दिएका हुन्। ‘झापाका रैथाने हात्तीहरु’ नामक पुस्तिकामार्फत हात्तीका नाम सार्वजनिक गरिएको हो। झापा, उदयपुरदेखि भारतको आसामसम्म ओहोरदोहोर गर्ने यी हात्तीहरू स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका छन्। लामो समयदेखि मानव–हात्ती द्वन्द्व झेल्दै आएको बाहुनडाँगी क्षेत्रमा सक्रिय संरक्षणकर्मी लुइँटेलले हात्तीको आनीबानी, स्वरूप र चालढाललाई आधार मानेर नाम दिएका हुन्। मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको पहिचानमार्फत मानव–हात्ती सहजीवनमा सहयोग पुर्याउने उद्देश्यले यो प्रयास गरिएको हो। नामकरण गरिएका प्रमुख हात्तीहरूमध्ये दुवै आँखाको दृष्टि गुमाएका, करिब ४५ वर्षे भाले हात्तीलाई ‘आँखा हात्ती’ नाम दिइएको छ, जसलाई पहिले गाउँलेहरूले ‘अन्धा हात्ती’ भनेर चिन्ने गरेका थिए। मानव बस्तीमा शान्त स्वभाव देखाउने यो हात्तीलाई नकारात्मक शब्द नदिई सम्मानजनक ढंगले चिनाउन ‘आँखा हात्ती’ नाम राखिएको हो। नेपाल–भारत सीमामा देखा पर्ने, लामो र मोटो दुई दाह्रा भएको वयस्क हात्तीलाई ‘ठूलो दाह्रे’ भनिएको छ। यस्तै, मझौला दाह्रा र चञ्चले स्वभाव भएको १२ वर्षे हात्तीको नाम ‘चुलबुल गज’, दाह्राविपरीत दिशामा फैलिएको करिब ५५ वर्षे हात्तीलाई ‘घुमन्ते राजगज’ नाम दिइएको छ। अन्य नामित हात्तीहरूमा मुलाजस्तो दाह्रा भएकालाई ‘मुलादन्ते’, तलमाथि फैलिएको दुई दाह्रासहितको हात्तीलाई ‘ढिकीच्याउँ दाह्रे’, छोटो दाह्रासहितकोलाई ‘ठुटे’, सधैं प्रसाद गौडाबाट नेपाल प्रवेश गर्ने बानी भएकालाई ‘प्रसाद गज’, कहिल्यै एकै स्थानमा नबस्ने स्वभावकोलाई ‘घुमन्ते गज’ र एकै दाह्रासहित सानो शरीर भएकोलाई ‘एक दाह्रे सानो गज’ भनिएको छ। वडाध्यक्ष कार्कीका अनुसार शङ्कर लुइँटेल हात्तीको चालढाल, आनीबानी र स्वरूपबाट टाढैबाट चिन्न सक्ने विशेषज्ञ हुनुहुन्छ, र हात्तीहरू पनि उहाँलाई चिन्छन्। नेपालमा पाइने यी रैथाने हात्तीहरू एसियाली हात्तीको भारतीय उपप्रजातिमा पर्दछन्।