बुद्धशान्ति- झापामा गर्मि बढेसँगै जिल्लाको उत्तरी भेगमा रहेका खोला र झरनामा नुहाउन जाने क्रम बढ्दो छ।
बुद्धशान्ति ६ स्थित गौडामा अघिल्ला बर्षको तुलनामा गर्मि छल्न जानेको संख्या ह्वात्तै बढेको देखिन्छ। स्थानीय टिमाई र ठोट्ने खोलाको सङ्गम स्थल र तिनका माथी रहेका झोलुङ्गे पुलले जो कसैको मन लोभ्याउछ। अझ पखेरा छिचोल्दै बगेको सफा र चिसो पानीमा डुबुल्की मार्न पाँउदा जो कसैको मन नलोभिने कुरै भएन।

त्यहि भिडमा आधा भन्दा ज्यादा पर्यटकहरु हातमा पेय पदार्थ लिएर खोला पस्ने गरेको पाइएको छ। नुहाएर शरिर सफा भएपनि बियरले रमरम लट्याएको हातले बियरको सिसि खोलाका ढुङ्गामा बजार्दा समस्या बढ्न थालेको छ।
स्थानीय सुरज खनाल स्थानीय निकाय र खासगरी वडाले चासो नदिँदा खोलामा बिकृति बढेको गुनासो गर्छन्। उनि भन्छन्, ‘ प्राकृतिक रुपमा यति सुन्दर देखिने यो ठाउँ शान्तिनगरका कृषकको जिवन पनि हो, हाम्रो सभ्यता हो तर मनोरञ्जनको नाममा बियरका बोत्तल फुटाउनु बिकृति हो यसतर्फ वडाले समयमै ध्यान दिनुपर्छ।’

सरसफाइ र यसको क्षेत्रमा काम नभएको भने होइन। अघिल्लो आर्थिक बर्षमा गाउँपालिका मार्फत वडाको बजेटमा स्थानिय युवा क्लबले बोत्तल व्यवस्थापन गर्न भन्दै डस्टपिट बनाएको थियो। त्यसअघि पनि पर्यटन प्रबर्द्धनका लागी वडाले बिश्राम घर र बस्ने चौतारी निर्माण भएको देखिन्छ। तर तिनिहरुलाई उचित रुपमा प्रयोगमा ल्याउन नसक्दा जङ्गल भित्रै हराएर जाने स्थिति बन्दै छ। खोलामा नुहाउन आउने पर्यटकलाई सचेत गराउने र व्यवस्थापनमा ध्यान नदिदा टिमाईको सुन्दरतामा आँच आउने हो कि भन्ने चिन्ता सर्वत्र बढ्न थालेको छ।

सोहि वडाका वडाध्यक्ष शिवराज पौडेल भने एक साता भित्र आवश्यक व्यवस्था गर्ने बताँउछन्। उनका अनुसार स्थानीय वासीसँग छलफल गरी उचित प्रबन्ध मिलाउने तयारी चलिरहेको समेत बताए। उनले वास्तविक पर्यटकलाई स्वागत गर्ने र विकृति बढाउनेलाई निगरानी गरी कारवाहि गर्ने समेत उल्लेख गरे।

उनि भन्छन्, ” समस्या बढेको कुरा हामीलाई जानकारी आएको छ,यसै साता स्थानीयसँग आवश्यक छलफल गरी कार्यविधि बनाएर व्यवस्थापन गर्छौं , हाम्रो चाहाना बढि भन्दा बढि पर्यटक भित्र्याउने नै हो तर बोत्तल फुटाउनेलाई निगरानी गरेर कारवाहि गर्छौ।”
बिर्तामोडबाट झन्डै ४५ मिनेटको मोटरसाइकल यात्रामा पुगिने गौंडाको सुन्दरतामा सबैले ध्यान दिन जरुरी देखिन्छ।