झापा। करिब २४ वर्षअघि ठगी मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका झापाका नर बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलीले उनलाई आज पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। झापा जिल्ला अदालतले २०५७ साल भदौ ४ गते ठगीसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएको थियो। तर उक्त फैसला पुनरावलोकन गर्दै पुनरावेदन अदालत इलामले २०५८ साल माघ २२ गते उनलाई एक वर्ष कैद र रु. ५३ हजार ३३३ रुपैयाँ ३३ पैसाको जरिवाना तोकेको थियो।
सोही फैसला पछि फरार रहेका विकलाई प्रहरीको निरन्तर खोजीपछि पक्राउ गरिएको हो। पक्राउ परेका ६१ वर्षीय बी.क. झापाको साबिक गोलधाप गाविस–६ (हाल हल्दीबारी गाउँपालिका–१) निवासी हुन्।
जिल्ला अदालत झापाको आदेशअनुसार उनलाई झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिएका हुन्।