Search
Close this search box.
Search
Close this search box.

ठूलो मान्छे !

– निरज दाहाल

आज अभिनव करिब बीस वर्षपछि फेरि काँकडभिट्टा आइपुगेको छ । हुन त उसको घर भएको ठाउँ बुधबारे काँकडभिट्टाबाट पुग–नपुग एक घण्टाको दूरीमा मात्रै होला । तर गएका बीस वर्षमा ऊ पढाइको क्रममा काठमाडौँ र त्यहाँबाट अझ उच्चतर शिक्षाका लागि अमेरिका गयो । बीचबीचमा घर नआएको होइन, तर काँकडभिट्टै जानुपर्ने चाहिँ त्यस्तो केही परेको थिएन । ऊ गएन ।

EPIC


काँकडभिट्टासँग अभिनवको बालापन गाँसिएको छ । ऊ यहीँ जन्मिएको हो । पछि उसका बुवाले “अकारण” बुधबारे सर्ने भनरे एक जना आफन्तको बारी बारेर बस्ने निर्णय लिएर सरेपछि काँकडभिट्टा उसका लागि सुदूरको एउटा बिझाइरहने सम्झना बन्न पुगेको हो । बुवाले इलामबाट काँकडभिट्टा बसाइँ सरेर आएको कुरा भने पनि आमाबाट अभिनवले अरू नै कुरा सुनेको थियो । परिपक्व हुँदै गएपछि उसलाई बुवाको भन्दा आमाको कुरा बढी विश्वासनीय लाग्यो । आमा बेलाबेलामा नजाँनिदो पाराले भन्थिन् “हामी भुटानबाट सिक्किम हुँदै यहाँ आएका हौँ ।” भुटानचाहिँ कहाँबाट पुगे, उसले चासो गरेन । बुवाको कथनमा टेकेर सोच्यो, भुटानचाहिँ इलामबाट हान्निएका हुन सक्छन् ।


जीवनका प्रथम बाह« वर्ष काँकडभिट्टामा बिताएपछि अभिनव बाआमासँगै बुधबारे सरेको थियो । अन्तरालमा ऊ धेरै पटक आयो–गयो । तर पढाइले काठमाडौँ र फेरि अमेरिका हुत्याएपछि भने उसको आगमन पातलो बनेको हो । ती बाह« वर्षमा अभिनवको शरीरबाट काँकडभिट्टाको माटोमा धेरै खसेका थिए पसिनाका थोपाहरू । धेरै बनेका थिए पाइताका डोबहरू । धेरै धेरै नै झाँगिएका थिए बालसुलभ सपनाहरू । यी सबै सम्झनाको साक्षी थियो एउटा ठूलो ढुङ्गो मेची पुलको नेपालपट्टिको किनारछेउ । आज बीस वर्षपछि ऊ यहाँ आउँदा पनि त्यस ढुङ्गोमाथि मौजुदै थियो ऊ हुनुको आस्तित्विक छाप । उसले ढुङ्गामाथि कुँदेर छोडेको थियो एउटा तिलस्मी वाक्यांशः “ठूलो मान्छे ।” यसको एउटा पृष्ठभूमि थियो ।


अभिनव सानै थियो । उसका बाउ “काम” मा भनेर बिहानै जान्थे, खै कता हो कता । साँझ घर फर्कन्थे । आमा मेची किनारमा बल्छी थापेर माछा मार्थिन् । दिउँसो अभिनव स्कुल जान्थ्यो, र अपराह्न आमासँगै मेची किनारमा हुन्थ्यो । बर्खा याममा नदीमा पानी अत्यधिक हुने र बेलाबेलामा बाढीको पनि समस्या हुने हुनाले यो क्रम अलि पातलिन्थ्यो । तर, प्रायःजसो महिनाहरूमा यो चल्थ्यो ।
आमाले माछा मारिरहँदा अभिनव नदी किनार र त्यस आसपासका गतिविधि नियोल्थ्यो, र बेलाबेलामा आएर आमालाई यो वा त्यो प्रश्न सोधिरहन्थ्यो । आमा पनि जानेसम्म भन्दिन्थिन्, तर बल्छीमा माछो अल्झिन लागेको बेला प¥यो भने परै उभिन सङ्केत गर्थिन् । यो उनीहरूको जीविकासँग गाँसिएको साङ्केतिक भाषा थियो । अभिनव बुझ्थ्यो ।


अभिनवसँग मेची किनारमा खेल्ने साथीहरूको एउटा सानो समूह पनि थियो । कुराकानीबाटै अभिनवले थाह पाएको थियो । उनीहरूमध्ये अधिकांश डेरावालाका छोराछोरी थिए । स्थायी परिवारका सदस्य थिएनन् । अभिनवसँग आमाबाट सुनेको भुटानको एउटा अतिरिक्त कथा पनि थियो । त्यसै अतिरिक्त कथाले उसलाई समूहको नाइके पनि बनाएको थियो । समूहमा खै कति कारणले हो । मेची वारि आएर पसल थापेका बङ्गालीकी छोरी रुपाली, बिहारीको छोरो इलियास र राजवंशीकी छोरी अन्जना पनि थिए । केटाहरू त कति हो कति थिए र के के जातका थिए । उसलाई पनि हेक्का थिएन । तर उनीहरू सबैलाई अभिनवको नेतृत्व स्वीकार्य थियो । अभिनवले सबैलाई भन्ने गरेको थियो ः “हामी सबै ठूला मान्छे हुने ।” उसले यो गुरुमन्त्र आमाबाट सिकेको थियो । विभिन्न समयमा उसले आमासँग गरेका सम्वादहरूमा यी कुरा उल्लेख्य थिए ।
“आमा ! यत्रो खोलामा यत्रो पुल कसले बनायो ?”
“ठूला मान्छेले ।”
“किन ?”
आमा मौन ।
“आमा ! पूल पारिपारि मान्छेले किन्ने र बेच्ने गरेका पैसा कसले बनाउँछ ?”
“ठूला मान्छेले ।”
“किन ?”
आमा मौन ।
“आमा ! अब फेरि हामीलाई हाम्रो भुटान घर कसले पु¥याउँछ ?”
“ठूला मान्छेले ।”
“हामीलाई यहाँ ल्याएकोचाहिँ कसले ?”
आमा मौन ।
“आमा ! अन्जनाको बाबा हाकिम हो रे । मेरो बाबा के हो ?”
“ठूलो मान्छे । चुप लाग् है बाबु ।”


अभिनवले आमासँग अरु पनि धेरै संवाद गरेको थियो । तर ऊ केटाकेटी अरु धेरै कुरा बुझ्दैनथ्यो । धेरै कुराको जवाफमा आमा मौन बस्थिन् । आमा नै मौन बसेपछि यस्ता सवाल चर्चामा आउँदैनथे । एउटा प्रश्नको जवाफले भने ऊ धेरै प्रभावित भएको थियो । पुल वारि र पारि खडा नेपाली र भारतीय सेनाको बारेमा उसले आमालाई सोधेको थियो । “आमा ! यिनीहरू को हुन्? के र्गछन्?”
आमाले भनेकी थिइन् । “बाबु ! यी सेना हुन् । मान्छेको सुरक्षा गर्छन् । सबैलाई सहयोग गर्छन् । ठूला मान्छे हुन् ।”
अभिनवको मस्तिष्कमा बन्दै गरेको ठूला मान्छेको छायाचित्रमा पछिल्लो समय थपिएको शब्द थियो— सेना ।


अभिनवले आफ्नो समूहको नाम “सेना” भन्थ्यो । सुक्खा याममा उनीहरू नदीमा फालिएका कागज, प्लास्टिक र अन्य बजारु अथवा औद्योगिक फोहोर सफा गर्थे र खाल्डोमा हाल्थे । सडकतिर कुदि हिँड्ने सडक बालबालिका देखे भने समातेर मोचीमा लान्थे । हात गोडा धोएर सफा बनाउँथे र छोडिदिन्थे । सडकवरिपरि छोडिएका गाई—बाच्छा देखे भने माया गरेर सुम्सुम्याउँथे, मेचीबाट पानी बोकेर खुवाउँथे अथवा किर्नाहरू टिपिदिन्थे । काँकडभिट्टाको बसपार्क वरिपरि देखा पर्ने अशक्त, भिखारी अथवा कुष्ठप्रभावितलाई आफूसँग भएको दुईचार पैसा वा खाने कुरा बिनासंकोच बाँड्थे । एक अर्थमा उनीहरू अभिनवकी आमाले कल्पना गरेका ठूला मान्छेका आदर्श र व्यवहार बाँच्थे ।
यसैबीच कहिले आमासँग त कहिले बुवासँग अभिनवले धेरै पटक मेची पुल तरिसकेका थियो । अब त ऊ दगुरेर एक्लै वारिपारि गर्न पनि डराउन छोडिसकेको थियो ।


एकदिन मेची पुलको पल्लोपटि थियो अभिनव । स्पष्टै चिनिने एउटा नेपाली परिवारले टाटा मोबाइलमा राखिएका घरका बोरिया–बिस्तरासहित पुल काटेर नेपालतिर पस्यो । कुनै अवरोध देखिएन । एकै छिनपछि एउटा लैनो गाई डो¥याउँदै एक जना पुरुष त्यसै गरी आए । गाई कट्यो । केही मिटरको दूरीमा त्यस गाईको बाच्छो डो¥याउँदै आएको एउटा किशोरलाई प्रहरीले रोक्यो । त्यसको माउले पुल काटेर पल्लोपट्टि पुगिसक्दा पनि बाच्छोले निकास पाएन । उतापट्टि पुगिसकेको बाउ माउ गाई छोडेर यतापट्टि आउन सकेन ।


करिब एक घण्टा चल्यो विवाद । प्रहरीले त्यस किशोरलाई दुईचार लाठी पनि हान्यो, अभिनवको आँखैअगाडि । बाच्छो निकै थकित , तृषित र असहाय देखिन्थ्यो । अभिनवको बालहृदय भित्र चस्कियो कतै । प्रश्न थियो । आमाले भनेका सबैका सहयोगी यी “सेना” किन यसरी निर्मम भइरहेका थिए यो बेला ? धेरैबेरको केरकारपछि त्यस किशोरले हातमा लगाएको घडी जिम्मा लगायो प्रहरीलाई र बाच्छोले निकासा पायो । यो घटनाले कलिलो अभिनवलाई धेरै दिनसम्म पिरोलिरह्यो । एक दिन साहस बटुलेर आमालाई सोध्यो “आमा ! सेनाले पनि त्यसो गर्न मिल्छ र ?”
“मिल्दैन ।”


“अनि किन ग¥यो त?”
“पछि ठूलो भएपछि थाह पाउँछस् ।”
अभिनवलाई अर्को एउटा घटनाको पनि मधुरो सम्झना आइरहन्छ । बुवाले एकदिन उसलाई काँकडभिट्टाको एउटा होटलमा पु¥याए । त्यहाँ दुईजना जवान महिला थिए । बुवाले अभिनवलाई भने “यी तिम्री फुपूहरू हुन् । एकजना बिरामी छिन् । अर्कीचाहिँ कुरुवा । औषधि गर्न सिलिगुडी लानु छ तर पुलिसले दिँदैन । तिमी बिरामी बालकजस्तो गर । ठूली फुपूले बोकेर पुल तारिदिन्छिन् । तिमीलाई उपचार गर्न लगेको भन्नू भनेको छु । ”


एउटी फुपूले अभिनवलाई बोकिन् । उसलाई खटपट भयो । बाटोमा उसले सोध्यो, “फुपू, बिरामीलाई औषधि गर्न जान पनि किन दिँदैन पुलिसले?”
“बाबु, तिमी सानै छौ । ठूलो मान्छे भएपछि थाह हुन्छ । हस् ?”
अभिनवलाई ठूलो मान्छे हुन हतार लाग्यो । ऊ बुवासँग वा एक्लै मेची वारिपारि गर्नमा रमाउन थाल्यो । यहाँ ठूलो मान्छे हुने केही विधि अवश्यै सिकिएला भन्ने उसलाई लाग्यो ।


यसपछिका दिनमा अभिनवले धेरैपल्ट मेची पारि पुगेर चुरोट, खैनी, पानका पत्ता, जर्दा र अनेक थरीका गुट्का ल्याएको थियो । बाटोमा थुप्रै आमा फुपूहरू पुल तर्दै गरेका भेटिन्थे र सबैका पोल्टा गर्भवती महिलाका जस्ता उठेका देखिन्थे । ऊ सोच्थ्यो, मेचीपारि ठूलो अस्पताल होला र ती आमा–दिदीहरू बच्चा जन्माउन त्यता जाँदा हुन् । कसै कसैलाई फर्कंदा पनि ऊ देख्थ्यो र पेट सामान्य लाग्थे । सोच्थ्यो बिचराहरूका बच्चा सायद जन्मनासाथ मरे भारतको अस्पतालमा ।


यी तमाम कुराको साक्षी अभिनवसँग अब समूहमा भन्न नयाँ र अर्कै खाले ठूला मान्छेका कथा पनि भए र सुनायो पनि । उसलाई लाग्थ्यो ती कथाले उसलाई साथीहरूका नजरमा एउटा मायावी नायकजस्तो देखाउने छ । तर साथीहरू उसले कल्पनै नगरेका कथा सुनाउँथे मेची वा परिपारिका सिमानाका, चौबाटोका ।


एक दिन अभिनवलाई लिएर उसका बुवा मेचीपारि पानीटेङ्की गए । उनले धेरै मान्छे भेटे । तीमध्ये एउटाले उनलाई थुप्रैवटा कलम दियो र कानमा केही भन्यो । अभिनवका बुवाले उसलाई केही पैसा थिए । फर्कने बेलामा ती कलम उसलाई बोक्न लगाए र आफूभन्दा अगाडि अगाडि कुदेर पुल तर्ने आदेश दिए । उसले त्यसै ग¥यो । यो क्रम धेरै दिन चल्यो । उता पुगेपछि बुवा ती कलम खोस्थे र खै कता लान्थे वा बेच्थे अभिनवले थाह पाएन । सोधेन पनि । धेरै दिनपछि अखबारमा खबर छापियो, “कलमभित्र लुकाएर लागुऔषध ओसार–पसार ।”
यस्ता धेरै अनुत्तरित प्रश्नहरू मनमा हुँदाहुँदै अभिनवका बुवा हराए । आमाले पनि केही दिनपछि उसलाई लिएर काँकडभिट्टा छोडिन् । छरछिमेकमा खासखुस केही कुरा भने अभिनवले सुन्यो । मान्छे भन्थे, “अनेक गरेर ठूलो मान्छे हुन खोज्थ्यो , भेट्यो । उठिबास लाग्यो ।”
उसले “ठूलो मान्छे” भनेको सम्म चाहिँ प्रस्टै सुन्यो । अरु कुरा सुनेन ।

—०—

अभिनव लामो समयपछि नेपाल फर्केको हो । छोटो समयका लागि । ऊ विगत एक हप्तादेखि काँकडभिट्टा आउने जाने गरिरहेको छ । बजारमा । चौबाटोमा, नाकामा, मेची पुलमा, पुलवारि र पारि ऊ विविध गतिविधि हेरिरहेको छ । आवाजहरू सुनिरहेको छ । भाषाहरू मिश्रित छन् । अनुहारका रङ विविध छन् । हतारो जब्बरको छ सबैलाई । आँखाहरूमा कहिल्यै नमेटिने तिर्खाजस्तो केही टाँसिएको छ । कुरा सुन्दा लाग्छ । ती स्थायी होइनन् काँकडभिट्टाका । कसैको सपना दिगो र स्थायी लाग्दैन । लाग्छ, सबै एउटै कुरा पर्खिरहेछन्ः कहिले र कहाँबाट आउँछ कुनै निर्दोष मान्छे र कुन उपक्रमले उसको खल्तीको पैसा यिनीहरूको खल्तीमा सर्छ । बस् ।


खोलामा केही बच्चा उसको “सेना” को उत्तराधिकार ग्रहण गरेर सफाइ गरिरहेका छन् । चोकपट्टि सडक बालबालिकालाई सहयोग गरिरहेका छन् । भिखारी र कुष्ठ प्रभावितहरूलाई पानी खुवाइरहेका छन् । केही मेची पुलमाथिबाट वारिपारि गरिरहेका छन् । तिनीहरूका खल्ती भरिएका देखिन्छन् । तर त्यहाँ के छ ? अभिनवलाई थाह छैन ।


अभिनवले धेरैबेर हे¥यो उसको “सेना”का ती उत्तराधिकारीलाई । हेर्दाहेर्दै ती बालकहरूको बिम्ब जादुयी पारोले फेरिएजस्तो भ्रम भयो उसलाई । ती हलक्कै बढे । ठूला भए हात–हातमा हतियार बोकेजस्ता देखिए र मेची पुलमा यताबाट उता, उताबाट यता गर्न थाले । उसले जोडसँग आफ्नो टाउको उताउति हल्लायो । दृश्य पुरानै ठाउँमा आइपुग्यो । निर्दोष नै देखिए बालबालिका ।


उसले बाटोमा दुगुरिरहेको एउटा बालकले गुट्का उदारेर मुखमा हालेको देख्यो । छेउमा गएर उसलाई रोक्दै भन्यो, “यो के खाको बाबु?”
“पराग ।”
“कसले सिकायो खान?”
“ठूलो दाइहरूले ।”


यति भनेर ऊ भाग्यो । अभिनवलाई भने तितो केही पिएजस्तो भइरह्यो धेरैबेर ।
सीमा क्षेत्रका अनेकानेक गतिविधि, होहल्ला, हतारो, जालसाजी, ठगी, दुर्गन्ध, दुव्र्यसन आदि हेर्दै ऊ मेची किनारको त्यसैले ठूलो ढुङ्गोछेउ पुग्यो । जहाँ उसको “सेना” को अखाडा थियो कुनै बेला । ऊ ढुङ्गामाथि चढ्यो र थुचुक्क बस्यो । वर्षौंपछि आमाको काखमा आइपुगेको अनुभव भयो उसलाई । उसको सम्झनाको पटलमा खरर आए उसका प्रिय साथीका नामहरू । रुपाली, इलियास, अन्जना र अन्य धेरै साथीहरू सम्झँदा आँखामा अडिन सकेन भावनाको आकाश । बग्यो मेची बनेर ।


उसका हात बिस्तारै अगाडि बढे । छेवैबाट उसले एउटा सानो ढुङ्गो टिप्यो र आफ्नो सम्पूर्ण बल लगाएर उसले आफूले बर्षौपूर्व त्यसै ढुङ्गामा अभिलिखित गरेको वाक्यांश “ठूलो मान्छे” बाट अघिल्लो भाग मेटायो । “मान्छे” मात्र रह्यो त्यहाँ, वीभत्सताको रूपक बनेर ।
उसले यति गरिरहँदा अलि टाढा उभिएर उसलाई हेरिरहेको एउटा अर्ध पागलजस्तो देखिने अधवैसे मान्छे उसको नजिक आयो र भन्यो “किन मेटाको? अब तँलाई मार्छ अभिनवले ।”


“तिमी को हौ?”
“म इलियास । अरु पनि आउँछन् कुन दिन र तँलाई पिट्छन् । कोही जेलमा छन्, कोही अस्पतालमा । सेना ठूलो बनेको छ हाम्रो । यो हाम्रो हेडक्वार्टर हो । अब तँलाई मार्छन् ।”
अभिनवले इलियासका आँखामा गाढा दृष्टि दागेर हे¥यो धेरैबेर । इलियास अलि परै उभियो र यसै गरी हे¥यो अभिनवलाई । दुवैका आँखाबाट आँसुका ढिक्का झरे र तल भुइँको ढुङ्गोमा मेटिएको “ठूलो” शब्दको छातीमै बजार्रिए । टाढाबाट कसैले बोलाइरहेको थियो, “इलियास, छिटो यता आइज । पुलिस आउँदैछ ।”

लेखक झापा बुद्धशान्ति निवासी हुनुहुन्छ । हाल अध्ययनको शीलशीलामा ः आर.आर क्याम्पस ( पुतलीसडक , काठमाडौँमा हुनुहुन्छ)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *