काठमाडौं। रुकुमको सांगीतिक यात्राका क्रममा अचानक स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएकी गायिका रचना रिमाल अहिले डिस्चार्ज भएर घर फर्किएकी छन्। जेष्ठ २७ गतेको लागि तय सांगीतिक कार्यक्रममा सहभागी हुन जेष्ठ २६ गते रुकुम पुगेकी रिमालको स्वास्थ्य जटिल भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
रचना रिमालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्, “राति एक बजेबाट पेटमा असह्य पीडा महसुस भयो, जुन ३-४ घण्टासम्म निरन्तर रह्यो। चौरजहारी अस्पतालमा परीक्षण गर्दा एपेन्डिक्स शंका गरियो। स्थिति गम्भीर देखिएपछि सेनाको हेलिकप्टरमार्फत मलाई नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको हो।”
हेलिकप्टर व्यवस्थापनमा सहयोग पुर्याउने रक्षा मन्त्री मानबहादुर राई, सांसद महेश वर्तौला र नेपाली सेनाका प्रधानसेनापति प्रति उनले विशेष धन्यवाद व्यक्त गरेकी छन्। काठमाडौं ल्याएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएकी रिमालको परीक्षणपछि एपेन्डिक्स नभई आन्द्रामा संक्रमण भएको पुष्टि भएको थियो।
ह्याम्स अस्पतालमा पाँच दिन उपचार गरिएपछि स्वास्थ्यमा सुधार आएर उनलाई डिस्चार्ज गरिएको हो। उनले उपचारमा संलग्न डा. भोला रिजाल, डा. अनुज पराजुली र डा. दिवेश श्रेष्ठसहित सम्पूर्ण स्वास्थ्यकर्मीलाई उनले धन्यवाद दिएकी छन्।
“हाल म चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेको छु र केही समयका लागि पूर्वनिर्धारित कार्यक्रमहरू स्थगन गरेको छु,” रचना रिमालले लेखेकी छन्, “छिट्टै पूर्ण स्वास्थ्यलाभ गरी दर्शक–स्रोता माझ फर्किनेछु भन्ने आशा छ।”