झापा – रङ र उल्लासको प्रतीक होली पर्व आज तराई-मधेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। पहाडी तथा हिमाली क्षेत्रमा फागुपूर्णिमाका दिन मनाइने होली तराईमा भोलिपल्ट धुमधामका साथ मनाउने परम्परा रहिआएको छ।
पण्डित बुद्धिसागर भण्डारीका अनुसार होली पर्व समानता, सद्भाव र भ्रातृत्वको प्रेरणा स्रोत हो। उनले भने, “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले विविधतामा एकता कायम गर्दै आएको छ।”
प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदि पात्रहरूसँग जोडिँदै फागु, फगुवा, होली, होरी आदि नामले प्रचलित भएको जनाइएको छ।
रङ र उमङ्गको पर्व होलीले सामाजिक सद्भाव अभिवृद्धि गर्दै भेदभाव तथा मनमुटाव हटाउने सन्देश दिन्छ। आपसी मेलमिलापको भावनासहित ढोल, डम्फु, मृदङ्गका तालमा नाचगान, खानपान र मनोरञ्जनका साथ होली मनाउने गरिन्छ।
आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा रङ, संगीत र उमङ्गका साथ होली पर्व मनाइँदै छ।