हनुमानढोका दरबारको क्षेत्रको तलेजु भवानीको मन्दिर आज खुला गरिँदैछ । यो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिनमात्र खोलिन्छ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।