तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ( पाँच दिन ) मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी भाइ टिका लगाई तिहार मनाउने गरिन्छ।
झिलिमिली बत्ती सँगसँगै तिहारको अर्को विशेषता भनेको देउसी र भैलो हो। हाम्रो समाजमा आजको परिवेशमा देउसी भैलोको मौलिकतामा प्रश्न उठ्ने गरेको छ। देउसी भैलोको सांस्कृतिक मूल्य घट्दै गएको बुझिन्छ।
देउसी भैलोको चलन श्रीकृष्णको पालाबाट सुरु भएको भन्ने पनि मान्यता रहेको छ। श्रीकृष्णको नेतृत्वमा सबैजना एकजुट भएर गोवर्धन पर्वत उचालेर आफ्नो संरक्षण गरेर भगवान इन्द्रलाई पराजित गरी खुसियाली मनाउने क्रममा देउसी भैलोको चलन स्थापित भएको मानिन्छ। यस्ता देउसी भैलोका बारेमा पौराणिक कथा र किम्वदन्तीहरू धेरै छन्।
केही दशक पहिले देउसी भैलो खेल्ने एउटा अनुशासन नै थियो। सांस्कृतिक मूल्य झल्काउने पहिरन ,ठेट देउसी भैलो र अन्य सांस्कृतिक गानामा नृत्य । देउसी भैलो नेपाली हिन्दु धर्मावलम्बीहरूको संस्कृति झल्काउने माध्यम हो। घरघरमा साथीभाइ भेला भएर जाने, सालिन तरिकाले भैलेनी-देउसी भट्याउने ,आशिष दिने र दान दाताहरूले दिनुभएको भेटी लिएर फर्किने एउटा चलन रहेको छ। देउसी भैलोले आफन्तजन छरछिमेकमा बैरभाव र मनमुटाव मेटाएर मित्रताको भाव जगाउने एउटा सामाजिक मूल्य पनि रहेको छ।
तर आजभोलि भने देउसी भैलो भेटीमा तौलिने गरिएको छ। जस्तै गीतमा पनि नृत्य गर्ने जस्तो पनि पहिरनमा नृत्य गर्ने र भेटी पनि आफैँले निर्धारित गर्ने एउटा विसङ्गति नै स्थापित भएको छ।। देउसी भैलोको आधुनिकीकरणले देउसी भैलोको अस्तित्वमै प्रश्न उठेको देखिन्छ। समग्रमा भन्नुपर्दा देउसी भैलो लोपउन्मुख अवस्थामै पुगेको छ। यहाँ त देउसी भैलोको नाममा केही भेला भएर अनेक अनेक नृत्य गरेर वनभोज जाने रमाइलो गर्ने पैसा भेला गर्ने मात्र लक्ष्य रहेको देखिन्छ।
देउसी भैलोले बोकेको हाम्रो पहिचान कसैले बुझ्न सकेको छैन। हामी पछिका पिँढीलाई देउसी भैलो भनेको नाच्ने र पैसा बटुल्ने बाहेक देउसी भैलोले बोकेको सांस्कृतिक मूल्यको ज्ञान कतै शून्य त हुने होइन? युट्युबमा केही मौलिक भिडियोहरू देखाएर हामीले हाम्रा छोराछोरी नातिनातिनालाई देउसी भैलोको बारेमा एकादेशको कथा सुनाउने दिन नआउला पनि भन्न सकिन्न।- समिक्षा कडरिया