काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् ।
चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९:०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर’ का अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको उद्गम बिन्दु जमिनको सतहदेखि १० किलोमिटर तल रहेको थियो । भूकम्प गएको क्षेत्र नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै पर्छ ।
नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा भूकम्पको क्षमता ५.३ म्याग्निच्युड मापन गरिएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प ७.१ म्याग्निच्युडको भएको जनाएको छ ।
नेपालबाट भूकम्पको केन्द्रबिन्दु ९३ किलोमिटर टाढा पर्छ । भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो । भूकम्पको धक्का नेपालमा स्थानीय समयानुसार बिहान ६ बजेर ५० मिनेटमा महसुस गरिएको थियो । भूकम्पले पूर्वी नेपालका केही जिल्लाहरूमा समेत सामान्य क्षति पुर्याएको छ ।
नेपाल प्रहरीका अनुसार भूकम्पले ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा केही घरमा क्षति पुगेको छ । भूकम्पको धक्का भारत र भुटानमा समेत महसुस गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगाल, असम, बिहार र दिल्लीसहित उत्तरी क्षेत्रमा पनि महसुस भएको जनाएका छन् ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दु ५ किलोमिटर आसपासमा ७ वटा गाउँ छन् । त्यस्तै, केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा दुई सहर छन् । भूकम्पका कारण सयौं घरहरू भत्किएका भिडियो र तस्बिरहरू सार्वजनिक भएका छन् ।
भूकम्पका कारण तिब्बतको सिगात्से शहरमा मात्रै हजारभन्दा बढी भवन भत्किएको जनाइएको छ । करिब ८ लाख जनसंख्या रहेको सिगात्से तिब्बती बौद्धधर्म गुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो । उनी तिब्बती बौद्धधर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन् । बीबीसीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ । चिनियाँ सेनाले उद्धारकार्यमा सैनिकहरू संलग्न भएको र सगरमाथा नजिकैको दुर्गम क्षेत्रमा मानवरहित ड्रोनलाई परिचालित गरेको जनाएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भिडिओमा उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी कार्य गरिरहेका र प्रभावित मानिसहरूलाई कठ्यांग्रिने जाडोबाट जोगाउन कम्बल वितरण गरिरहेको देखिन्छ ।
चीनको जलवायु प्रशासनका अनुसार डिंग्र्री काउन्टीको हालको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । रातको समयमा तापक्रम माइनस १८ सम्म झर्ने जनाइएको छ ।