उज्यालो पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् रूपमा सुरु भइसकेको छ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। शनिबार दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेसँगै शनिबारदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको हो।
तिहार सुरु भएसँगै भाइ मसलाको खरिद–बिक्रीमा पनि चहलपहल बढेको छ। किनमेलको प्रमुख गन्तव्य मानिने काठमाडौंको असन र इन्द्रचोक बजारमा यतिबेला भाइ मसला किन्नेको ताँती लागेको छ। सुकुमेल, सुपारी, बदाम, काजु, किसमिस, मखानादेखि लिएर मरमरी, सुठो, चकलेट र मिष्ठान्नका वस्तुहरू मिसाएर बनाइएको भाइ मसलाले तिहारमा ठूलो महत्त्व राख्छ। यसरी महत्त्व ठूलो भए पनि वर्षैपिच्छे यसको मूल्य बढ्दै जाँदा उपभोक्ताहरूमा निराशा छाएको छ।
काठमाडौंको धापासीबाट असन बजारमा भाइ मसला तथा तिहारको सामान किनमेल गर्न आएकी राज्य लक्ष्मीले पोहोरकोभन्दा यस वर्ष सामानमा अचाक्ली मूल्य वृद्धि भएको महसुस गरिन्। सबै सामान एकै स्थानमा पाइने भएकाले आफू असन बजारमा किनमेल गर्न आएको उनले सुनाइन्।
‘तिहारको सामान किन्न आएको सामानमा डबल डबल मूल्य वृद्धि भएको छ’, उनले गुनासो गर्छिन्, ‘पोहोर सालको तिहारको भन्दा यो तिहारमा आएका सामानहरू धेरै महँगिएका छन्।’
तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइ मसला दिने प्रचलन रहेको छ। तिहारमा विशेष गरी भाइटीकाको दिन दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसला दिने चलन छ। दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिइने यी भाइ मसला महँगिँदा दिदीबहिनीहरू मर्कामा परेका छन्।
आफ्नो दाजुभाइको लागि तिहारको किनमेल गर्न भक्तपुर बालकोटबाट असन बजारमा आएकी सुनिता खत्रीको पनि चित्त बुझेको छैन। लक्ष्मी जस्तै सुनिता पनि भाइ मसलाको मूल्य दोब्बर भएको हुँदा आफूले चाहे अनुरूपको किनमेल गर्न नसकेको बताउँछिन्।
मूल्य वृद्धिले सामान्य परिवारमा असर परेको छ। भक्तपुरकी गृहिणी बबिता बस्नेत भन्छिन्’, गत वर्ष जति पैसामा चार भाइका लागि मसला तयार गरेको थिएँ, यस पटक दुई भाइका लागि पनि पुग्न गाह्रो भइरहेको छ।’
यस वर्ष मसला उत्पादनमा कमी र आयात लागत बढेकाले विगतको तुलनामा मसलाको मूल्यमा उल्लेख्य वृद्धि भएको व्यवसायीहरू बताउँछन्।
काठमाडौंको असन, इन्द्रचोक, खल्टे र कालीमाटी मसला बजारमा अहिले सुकुमेल, सुपारी, बदाम, काजु, किसमिस, मखानादेखि लिएर मरमरी, सुठो, चकलेट र मिष्ठान्नका वस्तुहरूका मूल्य वृद्धि भएको व्यापारीहरूको भनाइ छ।
भक्तपुरको बालकोटमा विगत पाँच वर्षदेखि व्यापार गर्दै आएका राजेन्द्र ओलीले भाइ मसलाको मूल्य बढेको बताए।’ पहिलाभन्दा भाइ मसलाको मूल्य झन्डै २० प्रतिशतले बढेको छ’, उनले भने।
मूल्य बढेसँगै यस पटक व्यापारमा पनि कमी आएको उनको भनाइ छ।’ विगतभन्दा मूल्य पनि बढ्यो व्यापार पनि हुन छाड्यो’, उनले भने, ‘यस पटक नेपालको परिस्थितिका कारण पनि व्यापारमा कमी आएको हुन सक्छ।’
असनमा विगत ५० वर्षदेखि व्यापार गरिरहेका भक्तपुर ठिमीका चन्द्र श्रेष्ठका अनुसार भाइटीकाअघि तीन–चार दिन त हातै रोकिँदैन थिए। भारतबाट आयात हुने मसलाको मूल्य बढेकाले यस वर्ष खुद्रा मूल्य करिब १० देखि १५ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।
उनका अनुसार काजु, मखना र ओखर महँगिएका छन्। साथै यी वस्तुका माग पनि गत वर्षको तुलनामा करिब २० प्रतिशतले कमी भएको उनको भनाइ । पहिला यी वस्तुहरू असनमा मात्र पाइन्थ्यो त्यसैले धेरै व्यापार हुन्थ्यो तर पछिल्लो समय सबैतिर पाइने भएकाले व्यापार कम भएको उनको बुझाइ छ।
स्थानीय उत्पादनमा आधारित अखरोट, मकै, केरा र भुइँफुटेको (चटामरीका लागि प्रयोग हुने) सामग्री पनि बजारमा लोकप्रिय बन्दै गएको छ। सहरका युवा पुस्तामा तयारी प्याक गरिएको ‘भाइ मसला सेट’ किन्नेको संख्या पनि बढेको छ।
अर्की व्यापारी सुवर्णा श्रेष्ठले सबै मसला छुट्टाछुट्टै किन्नुभन्दा प्याक गरेर तयारी सेट बनाउँदा बिक्री सहज भइरहेको बताइन्। ‘अब ग्राहक सजिलो चाहन्छन्’, श्रेष्ठले भनिन्, ‘सबै मसला प्याक गरेर तयारी सेट बनाउँदा बिक्री पनि सहज भएको छ।’
बिक्री सहज भए पनि पछिल्लो समय व्यापार घटेको उनले बताइन्। भाइटीकाको दिनसम्म व्यापारमा केही सुधार हुने अपेक्षा उनको छ।’ यस वर्षको किनमेल भर्खरै सुरु भयो। अब भाइटीकाको दिनसम्म व्यापारमा केही सुधार होला भन्ने आश गरेकी छु’, उनले भनिन्।
यस पटक अनलाइनबाट भाइ मसला अर्डर गर्ने प्रवृत्ति पनि बढेको छ। केही खुद्रा पसलहरूले घरमै डेलिभरी सेवा पनि सुरु गरेका छन्। जसबाट पसलमै आएर सामान किन्ने ग्राहकको संख्यामा कमी भएको अनुमान असनमै विगत २० वर्षदेखि व्यापार गरिरहेकी शर्मीला खत्रीले गरिन्।
‘पहिले भ्याइ–नभ्याइ थियो अहिले हेर्याहेर्यै छौं’, सिजन अनुसारको सरसामान राखेर जीविका चलाउँदै आएको उनले बताइन्।
भाइटीकाको परम्परा प्रेम, माया र कर्तव्यसँग जोडिएको सांस्कृतिक प्रतीक हो। त्यसैले यो पर्व नजिकिँदा मसला व्यापारले सधैंजस्तो यो वर्ष पनि काठमाडौंको बजारमा रौनक भरेको उनी बताउँछिन्। असन, इन्द्रचोक, नयाँरोड, कलंकी र न्युरोडका मसला पसलहरूमा बिहानदेखि बेलुकासम्म ग्राहकको भीड लाग्ने गर्छ। उनका अनुसार काजु, किसमिस, सुकुटी, सुपारी र ओखर सबैभन्दा बढी बिक्री हुने वस्तु हुन्।
काठमाडौं भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म एक अर्ब ६२ करोड ९८ लाख ८२ हजार रुपैयाँको एक करोड ४३ लाख १० हजार २३४ किलोको भाइ मसलाका सामान आयात भएका छन्।
यो अवधिमा १७ करोड ८० लाख ३० हजार रुपैयाँको एक लाख ८७ हजार ६५३ केजी काजु आयात भएको छ। बदाम २३ करोड ७९ लाख ८० हजार रुपैयाँको एक लाख ११ हजार केजी आयात हुँदा २४ करोड ६४ लाख दुई हजार रुपैयाँको तीन लाख ४७ हजार १६० केजी ओखर आयात भएको छ।
यस्तै चार करोड ६ लाख ६१ हजार रुपैयाँको २०० केजी पिस्ता, ४७ करोड नौ लाख ३४ हजार रुपैयाँको १६ लाख ७९ हजार केजी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ।
सोही क्रममा २६ करोड ७३ लाख ४९ हजार रुपैयाँको ७७ हजार ८२७ केजी ल्वाङ आयात हुँदा तीन करोड चार लाख आठ हजार रुपैयाँको र ११ करोड ४० लाख २४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकुमेल आयात भएको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड ८२ लाख ११ हजार रुपैयाँको ८५ लाख २१ हजार ९११ केजी मसलाजन्य सामग्री आयात भएको थियो। उक्त अवधिमा २६ करोड एक लाख ६८ हजार रुपैयाँको दुई लाख ९८ हजार ९४६ केजी काजु आयात भएको थियो। बदाम १८ करोड ६४ लाख ५८ हजार रुपैयाँको दुई लाख ३२ हजार ६९४ केजी आयात भएको थियो।
यस्तै २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख सात हजार २२५ केजी ओखार आयात हुँदा २१ करोड ६२ लाख ३४ हजार रुपैयाँको १७ लाख १४ हजार ४१९ केजी सुपारी आयात भएको थियो।
यसैगरी ३१ करोड ७५ करोड २४ लाख रुपैयाँको ५४ लाख चार हजार १३० केजी नरिवल, १६ करोड ४५ लाख ५२ हजार रुपैयाँको दुई लाख १४ हजार ५३७ केजी ल्वाङ र नौ करोड ९४ लाख २९ हजार रुपैयाँको ३७ हजार १८३ केजी सुकुमेल आयात भएको थियो।
गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा मूल्य वृद्धि भएको कारणले गर्दा आयात गरिएको रकम भने गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी देखिएको विभागले जनाएको छ।
तिहारजस्ता पर्वहरूमा मूल्य नियन्त्रण गर्न निगरानी बढाएर व्यापारीहरूमा प्रतिस्पर्धाभन्दा पनि मुनाफा कमाउने प्रवृत्ति बढ्ने जोखिमलाई कम गर्नुपर्ने उनीहरूको माग छ।
 
								 
															

















