काठमाडौं। गत १५ चैतको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोप लागेका दुर्गा प्रसाईलाई जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासले बिहीबार मध्यराति थुनछेक आदेश सुनाएको हो।
थुनामा पठाउने आदेशसँगै प्रसाईको क्यान्सर रोगको उपचार व्यवस्था मिलाउन आदेश भएको कानून व्यवसायी स्वागत नेपालले जानकारी दिएका छन्। उनलाई क्यान्सरसम्बन्धि अस्पतालमै राख्न भनिएको छ।
उनीसहित सरोज गौतम, गोकर्ण शाही, सुशील बराल, केशब बस्नेत, कुमार तामाङ र दण्डपानी रेग्मीलाई थुनामा राख्ने आदेश भएको छ। अन्य ३२ जना धरौटीमा छुटेका छन्।
जिल्लाको आदेश बदर गराउन उच्च अदालत गइने अधिवक्ता नेपालले जानकारी दिए।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको हकमा भने उनीहरु अदालतमा उपस्थित भएपछि मात्र आदेश हुनेभएको छ।