हालसम्म मनाङ, मुस्ताङ र डोल्पाको मात्र गणना सम्पन्न भएको छ। बाँकी स्थानमा गणना जारी छ। यी स्थानको गणना सम्पन्न भइसक्दा एमालेले ४ स्थान , कांग्रेसले २ स्थान र नेकपा (एकीकृत समाजवादी) ले दुई पालिकामा जितेको छ।
नेकपा एमालेले जितेका पालिका
मनाङको मनाङ ङिस्याङबाट पालिका अध्यक्षका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए। उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए। कांग्रेसका उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए।
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भइन्।
मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन्। उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भइन्। विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाएका छन्।
यस्तै डोल्पाको शेफोसुण्डो गाउँपालिकामा एमालेका तर्फबाट धावा सम्डुक गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए।
कांग्रेसले जितेका पालिका
मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। कांग्रेसका लामलो १५८ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन्।
मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन्। उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन्। उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ। कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए।
नेकपा (एस) ले जितेका पालिकाहरू
नेकपा (एस) ले डोल्पाको दुई पालिकामा जितेको छ। यसअघि मनोनयन दर्ता गर्ने दिन एकीकृत समाजवादीले डोल्पाको दुवै पालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भई विजयको सुरुवात गरेको थियो।
कार्के गाउँपालिकाको दुई वडासहित अंगद राना पालिका अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, थार्का लाङसुङ गाउँपालिकाको अध्यक्षमा दुई वडासहित सोनाम गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ।