Search
Close this search box.
Search
Close this search box.

तीन वटा मुर्रा राँगाबाट चार हजार डोज वीर्य उत्पादन

बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ । गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका १५ वटामध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएका थिए ।

तीनमध्ये दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु गरिएको हो । गत आर्थिक वर्षमा दुई वटा भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज वीर्य उत्पादन गरिएको कार्यालयका निमित्त प्रमुख पशु विकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिए । ‘गत वर्ष भारतबाट ल्याइएका १५ मध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा यहाँ ल्याइएको थियो, हामीले दुई वटा राँगाबाट वीर्य उत्पादन सुरु गरेका छौँ, गत आवमा दुई हजार ६४३ डोज र यस चालु आवमा चार हजार ८३ डोज वीर्य उत्पादन गरेका र्छाैँ,’ उनले भने ।

EPIC

पशु विकास अधिकृत डा.खनालले यस वर्ष उत्पादन गरेको वीर्य परीक्षणकै क्रममा रहेको बताए । उनले भने, ‘गत आवमा उत्पादन गरेको दुई हजार ६४३ डोज वीर्य परीक्षणपश्चात् वितरण गरिसकेका छौँ, वितरण गरिएको वीर्यबाट आगामी माघ महिनाबाट पाडा पाडी उत्पादन सुरु हुनेछ ।’ कार्यालयले राँगा, साँढे र बोकाको वीर्य उत्पादन गर्दै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर महिनासम्म पाँच महिनाको अवधिमा २९ हजार ३१८ डोज जमेको वीर्य उत्पादन गरिएको डा. खनालले जानकारी दिए ।

उनका अनुसार १० हजार ६२ डोज साँढे र २३ हजार ५७८ डोज राँगाको गरी चालु आर्थिक वर्षको पाँच महिनाको समय अवधिमा २९ हजार ३१८ डोज वीर्य उत्पादन गरिएको हो । जर्सी साँढेबाट तीन हजार २३१ डोज र होलिष्टेन साँढेबाट छ हजार ८३१ डोज गरी दस हजार ६२ डोज साँढको वीर्य उत्पादन गरिएको छ । त्यसैगरी नेपालगन्ज मुर्रा राँगाबाट १९ हजार २५६ डोज, भारतीय मुर्रा राँगाबाट चार हजार ८३ डोज र गड्डी राँगाबाट २३९ डोज गरी २३ हजार ५७८ डोज राँगाको वीर्य उत्पादन भएको छ ।

त्यसैगरी यस आवमा कार्यालयबाट ३१ हजार ४७७ डोज वीर्य वितरण गरिएको पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए । जसमध्ये, जर्सी साँढेको ११ हजार ६६२ डोज, होलष्टेन साँढेको चार हजार ९२५ डोज, साहीवाल साँढेको एक हजार ३६८ र गिर साँढेको ४८७ डोज वीर्य वितरण गरिएको जैसीले बताए । जैसीका अनुसार मुर्रा राँगाको ११ हजार ६५६ र बोयर बोकाको एक हजार ४१९ डोज वीर्य वितरण गरिएको छ ।

यो चालु आवमा गत आर्थिक वर्षको स्टक रहेको र माग पनि बढी नभएका कारण बोयर बोकाबाट वीर्य उत्पादन गरिएको छैन । यस केन्द्रमा रहेका वीर्य अन्य केन्द्रबाट माग भइआएमा पठाइने र यस केन्द्रमा आवश्यक वीर्य अन्य केन्द्रबाट समेत ल्याएर वितरण गरिँदै आइएको उनले बताए । कार्यालयले कृत्रिम गर्भाधानका लागि वीर्य उत्पादन मात्र नगरेर पशुलाई प्राकृतिक गर्भाधानको सेवा पनि प्रदान गर्दै आएको छ । कार्यालयमा प्राकृतिक गर्भाधानका लागि राँगा तीन, बोका सात र साँढे चार वटा गरी १४ वटा पशु पालिएका छन् ।

त्यसैगरी कृत्रिम गर्भाधानका लागि वीर्य उत्पादन गर्न राँगा १२ वटा, बोका आठ र साँढे आठ गरी २८ वटा पशु छन् । त्यसैगरी छ वटा बाख्रासमेत गरेर कार्यालयमा हाल ४८ वटा पशु छन् । कार्यालयबाट यस वर्ष ३८ गाई, १७१ भैँसी र १४१ बाख्रा गरी ३५० वटा पशुलाई प्राकृतिक गर्भाधान गराइएको छ । गाईलाई गर्भाधान गराएबापत ७५ रुपैयाँ, भैँसीलाई १०० रुपैयाँ र बाख्रालाई २५ रुपियाँका दरले मूल्य निर्धारण गरी राजस्व सङ्कलन हुँदै आएको छ ।

गत आर्थिक वर्ष २०८०–०८१ मा कार्यालयबाट राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज जमेको वीर्य उत्पादन गरिएको थियो । आर्थिक वर्ष २०७८–०७९ को असोज महिनाबाट कार्यालयबाट वीर्य उत्पादन सुरु गरिएको हो । कार्यालयले यो चालु आवमा एक लाख डोज वीर्य उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *