काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका(३ थानकोटमा २७ वर्षीया सरु मगरमाथि चक्कु प्रहार भएको छ । घटना पुस २६ मा भएको हो ।
सरु मगर दाङ स्थायी घर भई हाल थानकोटमा बस्दै आएकी छन् । चक्कु प्रहारबाट घाइते सरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीय चन्द्रबहादुर खत्रीलाई पक्राउ गरेको छ । चन्द्रबहादुर रोल्पाको गंगादेवी गाउँपालिकाका बासिन्दा हुन् ।
उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । अनुसन्धान अनुसार चन्द्रबहादुर र सरु पहिलेदेखि नै परिचित थिए । चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्किएका थिए । प्रहरीलाई दिएको बयानमा उनले विदेशबाट सरुलाई रकम पठाउने गरेको बताएका छन् ।
साउदीबाट फर्केपछि सरुसँग सम्पर्क गर्न खोज्दा सरुले आफूलाई चिन्दिनँ भनेपछि चन्द्र बहादुरले आवेशमा चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाका क्रममा सरुको घाँटीको पछाडि र अनुहारमा चोट लागेको छ । थानकोट बजारमा सरुकी बहिनीको तरकारी पसलमा पुगेका चन्द्र बहादुरले त्यही पसलमा चक्कु प्रहार गरेका हुन् ।
घटनापछि घाइते सरुलाई सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा पुर्याइएको थियो । अवस्था गम्भीर भएपछि उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको हो । प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।