Search
Close this search box.
Search
Close this search box.

दाङमा ‘इन्डोर फार्मिङ’ मार्फत केसरको व्यावसायिक उत्पादन सुरु, वार्षिक तीन हजार किलो आयात रोक्ने लक्ष्य

घोराही । दाङमा बहुमूल्य वनस्पति केसरको व्यावसायिक उत्पादन थालिएको छ । करिब २४ लाख रुपियाँको लगानीमा ‘इन्डोर फार्मिङ’ गरेर दुर्लभ र बहुमूल्य जडीबुटी केसरको व्यावसायिक उत्पादन थालिएको हो । 

भारतको पन्जाबमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेर फर्किएका घोराही उपमहानगरपालिका–१०, नारायणपुर निवासी २७ वर्षीय विवेक अधिकारीले सनराइज कृषि फार्म स्थापना गरेर घरमै बहुमूल्य जडीबुटी केसरको उत्पादनमा लाग्नुभएको हो । 

EPIC EPIC EPIC

नेपालमा माग अनुसार केसरको उत्पादन नहुने र धेरै बाहिरबाट आयात हुने अवस्था रहेकाले व्यावसायिक उत्पादनमा लागेको अधिकारीले बताउनुभयो । हिमाली चिसो क्षेत्रमा हुने केसरलाई ‘इन्डोर फार्मिङ’ को व्यवस्था गरेर हावा र प्रकाशको व्यवस्थापन गरेर पहिलो पटक बन्द कोठामा उत्पादन थालिएको बताउनुभयो । 

कृषि अध्ययन गरेपछि स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्देश्यले फर्किएर आफ्नो ठाउँमा परीक्षणका रूपमा उत्पादन सुरु गरेपछि गुणस्तरीय उत्पादन भइरहेको उहाँले बताउनुभयो । “केसर बहुउपयोगी वनस्पति हो । समुद्र सतहबाट एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटरसम्म यसको खेती हुने भए पनि तराई क्षेत्रमा पहिलो पटक गरिएको हो,” उहाँले भन्नुभयो ।

खास गरी नेपालमा जुम्ला, डोल्पा, हुम्लालगायत नेपालका पूर्वी क्षेत्रमा खेती हुने गर्दछ तर त्यस क्षेत्रमा हुने उत्पादनले देशको माग पूर्ति नगर्ने भएकाले नेपालमा भारतलगायत बाहिरी देशबाट वार्षिक तीन हजार किलोग्राम केसर आयात हुने गरेको छ । 

यसरी हुने आयातलाई रोक्न ‘इन्डोर फार्मिङ’ को व्यवस्थापन गरेर उत्पादनमा लागेको बताउँदै अधिकारीले भन्नुभयो, “दाङमा खुला रूपमा केसरको उत्पादन गर्न सकिँदैन । बन्द कोठामा एसीको सहायताले भारतको कास्मिरमा हुने अहिलेको चिसो व्यवस्थापन गरेर उत्पादन थालेका छौँ ।” कोठाभित्र टाँडी बनाएर केसरलाई राखिएको छ । 

परीक्षण उत्पादनमा सफल भएकाले अब व्यवसायलाई बढाउँदै उत्पादनलाई ब्रान्डिङ गरेर बजारमा लग्ने तयारी गरिरहेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार राम्रोसँग हुर्किएको केसरको बिरुवाले रोपेको तीन सातादेखि उत्पादन दिन सुरु गर्छ । 

कोठामा हावा र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केसरको व्यावसायिक उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो । केसर एक बहुमूल्य तथा दुलर्भ वनस्पति भएको भन्दै उहाँले यो लसुन वा प्याजको आकारको सेतो गानाबाट खेती गर्न सकिने बताउनुभयो । 

पोथ्रो जातको यो वनस्पतिको फूल निलो र सुन्दर देखिन्छ । विश्व बजारमा केसरको मूल्य प्रतिकेजी आठदेखि १० लाख रुपियाँ रहेको छ । विवेकका बुवा नीमकान्त अधिकारीले छोरा कृषि पढेको र आफ्नै ठाउँमा केही गर्छु भनेर लागेकाले खुसी लागेको बताउनुभयो । पछिल्लो समय युवामा १२ कक्षा उत्तीर्ण भएपछि विदेश जाने क्रम बढेका बेला छोराले नयाँ खालको व्यवसाय गर्न आँट गरेपछि लगानीमा सहजीकरण गरिदिएको उहाँले बताउनुभयो । “छोरोले नेपालमा केसरको व्यावसायिक उत्पादनसँगै बजारको सम्भावना राम्रो देखेर उत्पादनमा लागेको छ । हामीले सहयोग गरिरहेका छौ,” उहाँले भन्नुभयो । 

केसरलाई दुध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै अनेक रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । जिल्लामा भएको उत्पादन काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायतका ठाउँमा बिक्री गर्ने योजना रहेको अधिकारीले बताउनुभयो । समाचार गोरखापत्रबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *