काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार (जुलाई १) देखि वायु प्रदूषण नियन्त्रणका लागि पुराना सवारीसाधनमाथि इन्धन प्रतिबन्ध लागू गरिएको छ। नयाँ नियमअनुसार, १५ वर्षभन्दा पुराना पेट्रोल र १० वर्षभन्दा पुराना डिजेल सवारीसाधनहरूले अब दिल्लीका पेट्रोलपम्पहरूमा इन्धन भर्न पाउने छैनन्।
स्थानीय यातायात विभागका अनुसार, यो निर्णयले सामान ढुवानी गर्ने गाडी, निजी कार र दुईपाङ्ग्रे सवारीसाधनसमेत गरी झण्डै ६१ लाख १४ हजार ७२८ सवारीसाधनलाई प्रत्यक्ष असर गर्नेछ। तीमध्ये ४० लाखभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन्।
दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक हो। जाडो याममा यहाँको वायु गुणस्तर सूचकांक (AQI) १,००० सम्म पुग्ने गर्छ। सरकारले पुराना पेट्रोल र डिजेल सवारीसाधनहरूलाई प्रमुख प्रदूषण कारक मानेको छ।
नियम उल्लंघन गर्ने सवारीसाधनहरूलाई प्रवर्तन निकायले तत्काल जफत गर्ने व्यवस्था गरिएको छ। यद्यपि, विशेष अनुमति प्राप्त वा कम्प्रेस्ड नेचुरल ग्यास (CNG) मा सञ्चालन हुने सवारीसाधनहरू भने यो प्रतिबन्धबाट छुट हुनेछ।
नयाँ प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि दिल्लीभरका करिब ५०० इन्धन स्टेशनमा ‘स्वचालित नम्बर प्लेट पहिचान प्रणाली’ (ANPR) क्यामेरा जडान गरिएको छ। यसले प्रतिबन्धित सवारीहरू पहिचान गर्न मद्दत गर्नेछ।
सरकारले यस अभियानलाई चरणबद्ध रूपमा विस्तार गर्दै आगामी नोभेम्बरदेखि गुरुग्राम, फरीदाबाद, गाजियाबाद, गौतम बुद्ध नगर र सोनीपतमा पनि इन्धन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। बाँकी राष्ट्रिय राजधानी क्षेत्र (NCR) मा भने आगामी वर्षको अप्रिलदेखि नियम लागू गरिनेछ।